काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ । मतदान बिहान १० बजेदेखि साँझ ६ बजेसम्म हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
मतदानका लागि राष्ट्रिय सभागृह र खुलामञ्चमा व्यवस्था गरिएको छ । प्रदेश तथा क्लस्टरअनुसार प्रतिनिधिका लागि छुट्टाछुट्टै मतदान केन्द्र तोकिएको छ ।
निर्वाचनमा ५०० मतदान अधिकृत परिचालन हुनेछन् भने २३ प्रकारका मतपत्र प्रयोग गरिनेछ । एक प्रतिनिधिलाई मतदान पूरा गर्न करिब ३० देखि ४५ मिनेट लाग्ने अनुमान गरिएको छ ।
राष्ट्रिय सभागृहको ‘मतदान केन्द्र क’ मा वाग्मती प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन् । खुलामञ्चको ‘मतदान केन्द्र ख’ मा कोसी, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेश र नेपाली जनसम्पर्क समितिका प्रतिनिधिका लागि व्यवस्था गरिएको छ ।
मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ ।
