कांग्रेसको महाधिवेशन ऐतिहासिक, नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेपाली कांग्रेसको १५औँ महाधिवेशन अहिलेसम्मकै ऐतिहासिक महाधिवेशन भएको बताएका छन्। महाधिवेशन अन्तर्गतको बन्द सत्र समापन कार्यक्रममा आङ्देम्बेले यसपटकको महाधिवेशनमा पार्टीको नीति, सिद्धान्त र भावी कार्यदिशाबारे छलफल भएकाले आफूलाई यो महाधिवेशन नौलो लागेको बताए।

‘मैले देखेको विगतका बन्दसत्रमा कहिल्यै नीति, सिद्धान्त र भावी कार्यदिशाका बारेमा छलफल भएको देखेको थिइनँ। त्यसकारण यो मेरो लागि पनि कांग्रेसको नौलो महाधिवेशन हो,’ उनले भने, ‘यसले कांग्रेसको नीति र सोचमा पनि बदलाव ल्याउने आशा राखेको छु।’

उनले महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका नेताहरूको उपस्थितिले नेपाली कांग्रेसले मुलुकको राजनीतिलाई दिशानिर्देश गर्ने भूमिका देखाएको बताए ।

‘उद्घाटन सत्रमा जुन राजनीतिक पार्टीहरू उपस्थित भए, त्यसले कांग्रेसले नै मुलुकको राजनीतिलाई मूल दिशानिर्देश गर्छ भन्ने प्रमाण हो,’ उनले भने।

आङ्देम्बेले कांग्रेसप्रति सबै उमेर समूहको भरोसा बढेको दाबी गरे । विगतमा कांग्रेसलाई ‘बूढोहरूको पार्टी’ भन्ने गरिएको भए पनि अहिले १८ वर्षका युवा–युवतीदेखि सबै उमेर समूहका मानिस कांग्रेसमा जोडिएको उनले बताए।
‘पहिले कांग्रेसलाई बूढोहरूको पार्टी भन्ने गरिन्थ्यो। तर आज १८ वर्षका युवा र युवतीहरूले भरिएको पार्टी बनेको छ,’ उनले भने, ‘आज कांग्रेसभित्र यति धेरै मानिसहरू छन्। यो पार्टी सबै उमेर समूहले भरोसा गर्ने पार्टीका रूपमा स्थापित भएको छ।’

उनले मुलुकको राजनीतिक अवस्थाप्रति टिप्पणी गर्दै बहुमतको नाममा ‘अल्गोरिदम’ बाट सत्तामा आएकाहरूले देशलाई गलत दिशातर्फ लैजाने प्रयास गरिरहेको आरोप लगाए।

‘आज देशमा बहुमतको नाममा अल्गोरिदमले सत्तामा आएकाहरूले युक्रेन बनाउने दिशामा लगिरहेका छन्,’ उनले भने, ‘अब यही हलले यही नेतृत्वप्रति भरोसा गरेर जानुपर्छ। देश यहीँबाट बन्ने छ।’ आङ्देम्बेले महाधिवेशनबाट निर्वाचित हुने नेतृत्वले पार्टीलाई नयाँ नीति, सोच र कार्यदिशासहित अघि बढाउनुपर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *