काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन तथा विवरण सच्याउन पाउने भएका छन् ।
मंगलबार मनोनयन दर्ता गरेका उम्मेदवारले निर्वाचन समितिले तोकेको समयभित्र उम्मेदवारी फिर्ता लिन वा आवश्यक विवरण सच्याउन सक्नेछन् । यसका लागि बिहान ९ बजेसम्मको समय तोकिएको छ ।
उम्मेदवारी फिर्ता र सच्याउने प्रक्रिया सकिएपछि बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । यद्यपि, महाधिवेशनको निर्वाचनसम्बन्धी प्रक्रिया केही ढिलो हुँदै आएकाले निर्धारित समय प्रभावित हुन सक्ने बताइएको छ ।
अन्तिम नामावली प्रकाशनपछि उम्मेदवारले दिनभर प्रचारप्रसार गर्न पाउनेछन् । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान भने बिहीबार हुनेछ । निर्वाचन समितिका अनुसार बिहान ७ः३० बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ ।
