विराटनगर । मोरङको लेटाङ नगरपालिका–९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
गएराति १०ः३५ बजे जाँते बजारबाट पथरीतर्फ जाँदै गरेको मे.४ प ७४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक झापा घेराबारी बस्ने २७ वर्षीय कुमार नेपाली, मोटरसाइकल पछाडि सवार सोही ठाउँका २५ वर्षीय सन्देश नेपाली र जिल्ला मोरङ, पथरीशनिश्चरे गाँउपालिका–०८ बस्ने ३२ वर्षीय अमर नेपाली घाइते भएका थिए ।
घाइतेलाई उपचारका लागि क्रमशः मदन भण्डारी अस्पताल, ट्रमा सेन्टर, मंगलबारे र न्युरो अस्पताल, विराटनगर पठाइएको थियो ।
उपचारका क्रममा कुमार नेपाली र सन्देश नेपालीको चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए ।
मोटरसाइकलमा सवार मोरङ पथरीशनिश्चरे गाउँपालिका –०८ का ३२ वर्षीय अमर नेपालीको न्युरो अस्पताल, विराटनगरमा उपचार भइरहेको छ ।
