-श्यामप्रसाद मैनाली ।
सेवारत अवधिमा पहिलोपटक विदेश सिंगापुर जाँदा मैले एउटा ठूलो डेक बिक्री प्रयोजनका लागि खरिद गरेर ल्याएको थिएँ । त्यसबेला विशाल बजारमा त्यसको मूल्य कति रहेछ भन्ने बुझिसकेको थिएँ। सिंगापुरमा परेको मूल्य र नेपालमा तिर्नुपर्ने भन्सार महसुलसमेत जोड्दा केही रकम बढीमा बिक्री गर्न सकिन्छ भन्ने मेरो सामान्य अनुमान थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उक्त डेक मूल्याङ्कनका लागि पेश गर्दा मैले एउटा कर्मचारीले व्यक्तिगत रूपमा ल्याएको सामान भएकाले भन्सारबाट सहजै छुट्ला भन्ने अपेक्षा गरेको थिएँ। तर मूल्याङ्कन गर्दा ठूलो रकम भन्सार महसुल लाग्ने देखियो। अझ अचम्म त के लाग्यो भने, त्यति रकम भन्सार तिरेपछि पनि उक्त सामान विशाल बजारमा मेरो परल मूल्यभन्दा कममा बिक्री भइरहेको रहेछ।
मैले त्यहाँका प्रमुख भन्सार अधिकृतसमक्ष आफ्नो कुरा विनम्रतापूर्वक राखेँ। तर उहाँ आफ्नो अडानबाट पछि हट्नुभएन। त्यसपछि मैले अलि भावुक हुँदै भनेँ,’यो सामान मेरो हो। भन्सार तिरेर लैजान सक्ने अवस्था भए लैजान्छु, नसके आफ्नै सामान भएकाले फुटाएर डस्टबिनमा हाल्न त सक्छु नि, होइन र?’ मेरो प्रश्नको कुनै उत्तर आएन। भोलिपल्ट म भन्सार विभागका तत्कालीन महानिर्देशक (हाल स्वर्गीय )हेमराज ज्ञवालीसमक्ष पुगेँ। मैले उहाँलाई कर्मचारीले ल्याएको सामानमा भन्सार कार्यालयले गरेको व्यवहार ठीक वा बेठीक भनेर निर्णय सुनाउन आग्रह गरिनँ। बरु एउटा सामान्य जिज्ञासा राखेँ,’व्यापारीहरूले पनि यही सामानमा भन्सार महसुल तिर्नुपर्छ होला। त्यसो भए उनीहरूले यो सामान मेरो भन्दा सस्तोमा कसरी बिक्री गरिरहेका होलान् ? म यति ठूलो भन्सार तिर्न सक्दिनँ। त्यसैले एयरपोर्ट गएर आफ्नो सामान टुक्राटुक्रा पारेर डस्टबिनमा हाल्छु, यही कुरा तपाईंलाई अनुरोध गर्न आएको हुँ।’
मेरो कुरा सुनेपछि महानिर्देशकज्यू मुस्कुराउनुभयो। उहाँले भन्नुभयो ‘व्यापारीहरूबाट यस्ता गुनासा खासै आउँदैनन्, तर तपाईं जस्ता सामान्य कर्मचारीले ल्याएको एउटा सामानको विषयमा चाहिँ धेरै गुनासो आउन थालेकोछ।’ त्यसपछि उहाँले एयरपोर्ट भन्सारका हाकिमलाई फोन गरेर भन्नुभयो ‘एउटा कर्मचारीले ल्याएको सामानमा किन यस्तो भएको रहेछ, हेर्नुहोस्। म उहाँलाई पठाइदिन्छु।’
त्यसपछि म एयरपोर्ट पुगेँ। यसपटक मेरो सामान अत्यन्त सम्मानपूर्वक बुझाइयो र भन्सार महसुलसमेत लिइएन। घटनाको अन्तिम परिणाम मेरो अपेक्षाभन्दा बिल्कुलै फरक थियो। तर त्यस क्षण मैले एउटा कुरा भने बुझिनँ,एउटै सामानको मूल्याङ्कनमा यति ठूलो अन्तर कसरी पर्न गयो ? आज फर्केर हेर्दा, त्यो घटना मेरो सेवाकालको एउटा सानो तर सम्झनलायक अनुभवजस्तो लाग्छ। त्यसले प्रशासनमा नियमको समान प्रयोग, नागरिकसँगको व्यवहार र गुनासो सुन्ने संस्कारको महत्त्वबारे मलाई एउटा मौन पाठ दिएको थियो ।
