नक्कली स्टिकर ब्रान्ड बनाई म्याद गुज्रिएका गुणस्तरहीन खाद्य सामग्री बिक्रीवितरण गर्ने दुई जना पक्राउ

काठमाडौँ । म्याद गुज्रिएका तथा गुणस्तरहीन खाद्यवस्तुमा नयाँ मिति र लेबलिङ गरी बिक्री वितरण गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँ र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले चन्द्रागिरि नगरपालिका–१५ तीनथानास्थित सिद्धि विनायक खाद्य स्टोरमा अनुगमन गर्दा म्याद गुज्रिएका खाद्यवस्तुमा नयाँ मिति राखेर बिक्री वितरण भइरहेको फेला पारेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा बारा प्रसौनी गाउँपालिका–१ घर भई हाल तीनथानामा बस्दै आएका ४० वर्षीय विजेन्द्र साह र पर्सा बिन्दबासिनी गाउँपालिका–२ बहुअरुवा भाठा घर भई हाल तीनथानामा बस्दै आएका ४९ वर्षीय अखिलेस प्रसाद कलवार छन् ।

प्रहरीले उनीहरूको साथबाट मिति राख्ने मेसिन एक थान, विभिन्न खाद्यवस्तुका लेबलिङ स्टिकर, म्याद गुज्रिएको काजु एक बाल्टी, पेस्ता र एल्मण्ड एक–एक कार्टुन, कालो भटमास चार बोरा, मकै दुई बोरा र हरियो केराउ एक बोरा बरामद गरेको जनाएको छ ।त्यस्तै, बोरा सिलाउने मेसिन, ल्यापटप र प्रिन्टरसमेत बरामद गरिएको छ ।

म्याद गुज्रिएका तथा मिति उल्लेख नभएका खाद्यवस्तुमा नयाँ मिति र लेबलिङ गरी बिक्री वितरण गरेको आरोपमा पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *