काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानबहादुर शाहीले ‘जेनजी’ आन्दोलनको छानबिन गर्न गठित प्रतिवेदनले दोषी ठहर गरेका र भ्रष्टाचारमा संलग्न व्यक्तिहरुलाई कारबाही गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा शाहीले अपराधजन्य कुनै पनि घटनामा दोषी प्रमाणित भएकालाई कारवाही गरिए त्यसमा आफ्नो पार्टीकोतर्पmबाट समर्थन रहने स्पष्ट पारे ।
उनले विद्यार्थीलाई गोली हान्ने र सिंहदरबार जलाउनेलाई कारबाही हुनुपर्ने बताए। उनले भने, ‘आन्दोलनको क्रममा अहिलेका गृहमन्त्रीले, प्रधानमन्त्रीले घाँटी सुकाई–सुकाई कराएका हत्याराहरू हुन् भन्ने मान्छे एकजना पक्राउ गर्न सक्नुभयो ? कहाँ छन् आज तिनीहरू ? त्यो ७६ जना मान्छे जो मरे, तपाईँहरूलाई सत्ताको सिँढी चढाउनका लागि मात्र मरेका होइनन्।’
उनले राष्ट्रिय मानव अधिकार आयोगले कारबाहीको सिफारिस गरेकाहरु खुलमखुला हिँडिरहेका भन्दै आपत्ति जनाए । उनले भने, ‘राष्ट्रिय मानव अधिकार आयोगले सिंहदरबार जलाउने, संसद् भवन जलाउने, सर्वोच्च अदालत जलाउने, निजी व्यक्तिहरूको सम्पत्तिसम्म जलाउने अपराधीहरूलाई कारबाही गर भनेर प्रतिवेदन बुझाएको ६ महिना भयो, तपाईँहरूले एउटा अनुसन्धानको अ पनि गर्नुभएको छैन। अनि तपाईँ र हिजोको सरकारका बीचमा फरक के भयो त?’
