काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक क्रान्तिशिखा धितालले संसद्लाई सरकारको प्रतिरक्षा र आलोचना गर्ने थलोमात्र बनाउन नहुने बताएकी छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा भाग लिँदै उनले संसद्प्रति सरकार जवाफदेही हुनुपर्ने बताएकी हुन् । संसदमा बोलेका विषयमा सुनुवाइ नहुने तर मन्त्रालय तथा मन्त्रीका सचिवालयमा धाउँदामात्रै सुनुवाइ हुने प्रवृत्ति गलत भएको भन्दै सचेतक धितालले सत्तापक्षभित्र पनि प्रतिपक्षी भूमिका रहने उल्लेख गर्दै संसद्लाई सधैँ सरकारको प्रतिरक्षा र आलोचना गर्ने थलोका रूपमा मात्र बुझ्न नहुने बताइन् ।
संसदमा सांसदको उपस्थिति घट्नुका कारणबारे पनि गम्भीर समीक्षा गर्नुपर्ने बताउँदै उनले संसदीय वातावरण कति व्यवस्थित छ भन्ने प्रश्न गरिन् ।
‘सांसदहरूलाई दलको आदेशभन्दा विवेकबाट चल्न दिनुपर्छ । अघोषित मुकामबाट बोल्न रोक लगाउने वा सिकाउने काम हुनु हुँदैन’, उनले भनिन् ।
सरकारका दृष्टिमा संसद्लाई हेर्ने सोचमा परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै उनले सांसदको भूमिका खोजिएको ठाउँमा केवल उपस्थिति खोजेरमात्र नहुने बताइन् । ‘भूमिका खोजेको ठाउँमा उपस्थितिमात्रै खोजेर हुँदैन’, उनले भनिन् ।
सदनमा सांसदहरूले पहिचानको सङ्कट खेपिरहेको उनको भनाई थियो।
उनले भनिन्,’हामी त अस्थायी हौ, सदन स्थायी हो सोचौं त, सांसदलाई नै ‘आइडेन्टिटी क्राइसिस’ भयो भने उनीहरू के गर्छन् ? उनीहरू ‘एक्सन’मा कम र ‘एक्टिङ’मा बढी ध्यान लगाउँछन्।’
भारतीय लेखिका अरुन्धती रोयको पुस्तक ‘लिसनिङ टु ग्रासहोपर्स’ को सन्दर्भ जोड्दै सांसद धितालले लोकतन्त्रका बाहिरी ढाँचा उभिए पनि त्यसको सार मर्न सक्ने खतरा औंल्याइन्।
सत्तापक्षभित्रै पनि प्रतिपक्ष हुने उल्लेख गर्दै उनले प्रश्न उठाउने सांसदहरूलाई षड्यन्त्रको सिद्धान्त (कन्स्पिरेसी थ्योरी) लगाएर बाँध्न नमिल्ने बताइन्। उनले भनिन्, ‘अब यस्तो सदन बनोस्, जहाँ सांसदलाई सदन आउनु बाध्यता नबनोस्, इच्छा बनोस् ।’
