एजेन्सी । भेट्रान फरवार्ड तथा कप्तान क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युईएफए नेसन्स लिगमा सहज जित निकालेको छ । बिहीबार राति भएको खेलमा डेनमार्कलाई ४-२ गोलले पराजित गर्दै पोर्चुगलले प्रतियोगितामा लगातार तेस्रो जित निकालेको हो ।
पार्केनमा भएको खेलमा पोर्चुगललाई जित दिलाउन जोए कान्सेलो, गोन्सालो रामोस, भिटिन्हा र जोए फेलिक्सले समान एक/एक गोल गरे । डेनमार्कको लागि मिकेल डाम्सगार्ड र रास्मुस होज्लुन्डले समान एक/एक गोल गरे । खेलको १३ औँ मिनेटमा कान्सेलोले गोल गर्दै पोर्चुगललाई शुरुवाती अग्रता दिलाएका थिए ।
२३ औँ मिनेटमा डाम्सगार्डले गोल गर्दै डेनमार्कलाई १-१ गोलको बराबरीमा ल्याए । २५ औँ मिनेटमा रामोस्ले गोल गर्दै पोर्चुगललाई २-१ गोलको अग्रता दिलाएका थिए । ५३ औँ मिनेटमा होज्लुन्डले गोल गर्दै घरेलु टोलीलाई २-२ गोलको बराबरीमा ल्याए । ६७ औँ मिनेटमा भिटिन्हाले गोल गर्दै पोर्चुगललाई फेरी ३-२ गोलको अग्रता दिलाए ।
यस्तै ८७ औँ मिनेटमा फेलिक्सले गोल गर्दै पोर्चुगललाई ४-२ गोलको जित दिलाएका हुन् । जितसँगै पोर्चुगल ३ खेलबाट ९ अंक जोड्दै समूह ए ४ को शीर्ष स्थानमा रहेको छ भने समान खेलबाट ३ अंक जोडेको डेनमार्क दोस्रो स्थानमा रहेको छ ।
