एजेन्सी । क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेका छन् । उनले बिहीबार डेनमार्कविरुद्ध हुने खेलअघि टोलीबाट बाहिरिने निर्णय गरेका हुन् ।
रोनाल्डोले नेसन्स लिगको पहिलो खेलमा वेल्सविरुद्ध सुरुवाती खेलाडीका रूपमा खेलेका थिए । उक्त खेलमा पोर्चुगल १–० ले विजयी हुँदा उनी ६७औँ मिनेटमा मैदानबाट बाहिरिएका थिए । त्यसपछि नर्वेविरुद्धको २–१ को जितमा भने उनी बेन्चमै रहे र मैदान प्रवेश गरेनन् ।
नर्वेविरुद्धको खेलपछि रोनाल्डो र मुख्य प्रशिक्षक जोर्जे जेसुसबीच सम्बन्धमा चिसोपना आएको खबर सार्वजनिक भएका थिए । जेसुसले खेलअघि रोनाल्डोलाई खेलमा प्रयोग गर्ने योजना रहेको बताएका थिए । तर, बुधबारको पत्रकार सम्मेलनमा उनले रोनाल्डोसँग यस अन्तर्राष्ट्रिय ब्रेकमा उनको भूमिकाबारे कुराकानी भइसकेको र डेनमार्कविरुद्ध पनि उनले नखेल्ने बताएका थिए ।
रोनाल्डोले सोमबार र मंगलबार टोलीका अन्य खेलाडीबाट अलग रहेर प्रशिक्षण गरेका थिए । यसबीच पोर्चुगल फुटबल महासंघका अध्यक्ष पेड्रो प्रोएन्सासहित रोनाल्डो र जेसुसबीच विवाद समाधानका लागि बैठक भएको खबरसमेत सार्वजनिक भएको थियो ।
त्यसपछि रोनाल्डोले सामाजिक सञ्जालमार्फत आफूले राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छोड्ने निर्णय गरेको जानकारी दिएका हुन् ।
उनले पोर्चुगल फुटबल महासंघका अध्यक्षसँगको कुराकानीपछि टोली छाड्ने निर्णय गरेको बताउँदै यसबारेको वास्तविक कारण उपयुक्त समयमा पोर्चुगलका समर्थकलाई बताउने उल्लेख गरेका छन् । साथै, उनले पोर्चुगल र आफ्ना सबै सहकर्मीलाई आगामी खेलका लागि शुभकामना दिएका छन् ।
रोनाल्डो पुरुष अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी हुन् । उनले पोर्चुगलका लागि १४६ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन् र करिअरमा १,००० गोल पूरा गर्ने लक्ष्यमा छन् ।
रोनाल्डोले अब डेनमार्कविरुद्धको खेलसँगै अक्टोबर ४ मा हुने नर्वेविरुद्धको दोस्रो खेल पनि गुमाउनेछन् । पोर्चुगलले नेसन्स लिगको समूह ए४ मा दुई खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । प्रशिक्षक जेसुसको नेतृत्वमा पोर्चुगलले दुवै खेल जितेको छ ।
