फ्लाईदुबईका पाइलट मच्छरको बहादुरीको चर्चा, ट्रम्पदेखि नेतन्याहूसम्मले गरे प्रशंसा

बीबीसी । फ्लाईदुबईका सह–चालकले चक्कु प्रहार गरेपछि गम्भीर घाइते भएका भारतीय क्याप्टेन स्मित मच्छरको बहादुरीको अन्तर्राष्ट्रियस्तरमा चर्चा भएको छ।

इजरायली यात्रु यानिभ हयुनका अनुसार सह–चालकको आक्रमणपछि बेहोस हुनुअघि मच्छरले ककपिटको ढोका खोलेका थिए । यसले यात्रु तथा चालक दलका सदस्यलाई ककपिटभित्र प्रवेश गरी विमानको नियन्त्रण लिन सहयोग पुगेको बताइएको छ।

हयुनले बुधबार बेन गुरियन विमानस्थलमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँगको कुराकानीमा मच्छरले सुझबुझ प्रयोग गर्दै ककपिटको ढोका खोलेको बताएका हुन्।

नेतन्याहूले सामाजिक सञ्जाल ‘एक्स’मार्फत मच्छरको प्रशंसा गर्दै चक्कु प्रहारबाट गम्भीर घाइते भएपनि उनले आक्रमणको प्रतिकार गरेको, ककपिटको ढोका खोलेको र यात्रु तथा चालक दलका सदस्यलाई सह–चालकलाई नियन्त्रणमा लिन अवसर दिएको बताएका छन्।

उनका अनुसार मच्छरको कदमले विमानमा ठूलो दुर्घटना हुनबाट जोगाउन महत्वपूर्ण भूमिका खेलेको थियो । नेतन्याहूले विमानमा रहेका १७४ जनाको ज्यान जोगाउन उनको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।

इजरायली सञ्चारमाध्यमका अनुसार विमानभित्र रहेका केही यात्रुले घाइते मच्छरलाई प्राथमिक उपचार दिएका थिए। इजरायली दन्त चिकित्सक शोता मुसायेवले उनको टाउको र हातबाट धेरै रगत बगेको र आफूले रगत रोक्न सहयोग गरेको बताएका छन्।

विमानलाई साउदी अरबको ताबुक विमानस्थलमा आपतकालीन अवतरण गराएपछि मच्छरलाई ताबुकस्थित अस्पतालमा भर्ना गरिएको थियो। साउदी अरबस्थित भारतीय दूतावासले उनको अवस्था स्थिर रहेको र आवश्यक उपचार भइरहेको जनाएको छ।

मच्छर अनुभवी पाइलटसमेत हुन्। उनको लिंक्डइन प्रोफाइलअनुसार उनले फ्लाईदुबईमा आबद्ध हुनुअघि भारतीय एयरलाइन्स स्पाइसजेटमा एक दशकभन्दा बढी समय काम गरेका थिए। उनी त्यहाँ ट्रेनिङ क्याप्टेन तथा नयाँ पाइलटका मेन्टरसमेत थिए।

उनले बोइङ ७३७–८०० तथा ७३७ म्याक्स ८ र ९ विमानमा करिब ९ हजार ७५० घण्टा उडान गरेको विवरण उनको प्रोफाइलमा उल्लेख छ।

यस घटनामा मच्छरको भूमिकाको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि प्रशंसा गरेका छन्। ट्रम्पले पाइलटले चक्कु प्रहारको सामना गर्दै ककपिटको ढोका खोलेर सहयोगका लागि आवाज लगाएको र त्यसले विमानलाई दुर्घटनाग्रस्त गराउने कथित प्रयास रोक्न सहयोग पुगेको बताएका छन्।

ट्रम्पका अनुसार विमानमा रहेका एक यात्रुले ककपिटमा प्रवेश गरी सह–पाइलटलाई सिटबाट तानेर नियन्त्रणमा लिन सहयोग गरेका थिए। ती यात्रु प्लम्बर रहेको र उनले टेलिभिजन कार्यक्रम हेरेर विमान उडानका केही आधारभूत कुरा सिकेको बताएको ट्रम्पले उल्लेख गरेका छन्।

विमानको पछिल्लो भागमा रहेका अतिरिक्त पाइलट र सुरक्षा कर्मचारी पछि ककपिटमा पुगेपछि विमानको नियन्त्रण सम्हालेका थिए। ट्रम्पले भने आफूले प्राप्त जानकारीका आधारमा मात्र यी विवरण सार्वजनिक गरेको र घटनाका सबै तथ्य स्वतन्त्र रूपमा पुष्टि नभएको स्पष्ट पारेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *