प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश

कास्की ।  भोटेकोशी बाढी, लगातारको वर्षा र मुख्य सडकमार्गमा आएको अवरोधका कारण मुलुकको पर्यटकीय राजधानी पोखरामा पर्यटक आगमन ठप्पप्रायः बनेको छ। सामान्य अवस्थामा स्वदेशी तथा विदेशी पर्यटकले भरिभराउ हुने लेकसाइडमा समेत अहिले पर्यटकको उपस्थिति न्यून छ।

यही प्रतिकूल परिस्थितिबीच विश्व पर्यटन दिवसका अवसरमा पोखराले ‘नेपाल खुला छ, पोखरा पर्यटकको स्वागतका लागि तयार छ’ भन्ने सन्देश दिएको छ। रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराले आइतबार साँझ लेकसाइडमा मिनी सडक महोत्सव आयोजना गरी पर्यटकीय गतिविधि सञ्चालनमा रहेको सन्देश प्रवाह गरेको हो।

भोटेकोशी बाढीसँगै देशका विभिन्न स्थानमा देखिएको विपद् तथा पोखरा जोड्ने मुख्य सडक पृथ्वी राजमार्ग प्रभावित भएपछि पर्यटक आगमन उल्लेख्य रूपमा घटेको पर्यटन व्यवसायीले बताएका छन्। सडक अवरोधका कारण बुकिङसमेत रद्द भएको उनीहरूको भनाइ छ।

रेवान पोखराका अध्यक्ष वसन्त गौतमले विषम परिस्थितिमा पनि पोखरा सुरक्षित रहेको र पर्यटकको स्वागतका लागि तयार रहेको सन्देश दिन महोत्सव आयोजना गरिएको बताए। महोत्सवमा स्थानीय कला, संस्कृति, खानाका परिकार, आतिथ्य, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमलाई प्राथमिकता दिइएको थियो।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराको पर्यटनलाई लेकसाइडमा मात्र सीमित नराखी पर्यटकको रुचि र आवश्यकताअनुसार नयाँ गन्तव्य, सेवा र अनुभवसँग जोड्नुपर्ने बताए।

पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले सुस्ताएको पर्यटनलाई चलायमान बनाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने बताए। हालै फ्लाइ दुबईले पोखरा–दुबई रुटमा उडान सुरु गरेकाले अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार र पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्ने उनको अपेक्षा छ।

लगातारको वर्षापछि आइतबार बिहानदेखि मौसममा सुधार आउँदा लेकसाइडमा केही चहलपहल बढेको थियो। पर्यटन व्यवसायीले भोटेकोशी बाढी र मनसुनको प्रभाव कम हुँदै गएसँगै पोखरामा पर्यटक आगमन पुनः बढ्ने अपेक्षा गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *