ट्रम्प र सीबीच उच्चस्तरीय भेटवार्ता, व्यापार सहमति विस्तारमा जोड

रोयटर्स । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई बिहीबार ह्वाइट हाउसमा भव्य राजकीय समारोहसहित स्वागत गरेका छन् । अमेरिका–चीनबीचको रणनीतिक प्रतिस्पर्धा कायमै रहे पनि दुवै नेताले सम्बन्धमा स्थिरताको सन्देश दिने प्रयास गर्ने अपेक्षा गरिएको छ।

विश्वका दुई ठूला अर्थतन्त्रका प्रमुखबीच यस वर्ष हुन लागेको यो दोस्रो भेट हो। सी भने एक दशकभन्दा बढी समयपछि पहिलोपटक वासिङ्टन पुगेका हुन्।

ट्रम्पले बुधबार साँझ जोइन्ट बेस एन्ड्र्युजमा सीलाई स्वागत गरेका थिए। अमेरिकी राष्ट्रपतिले त्यहाँ विदेशी नेताको स्वागत गरेको यो ११ वर्षपछि पहिलोपटक भएको सी–स्प्यानले जनाएको छ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार सीले अमेरिका र चीन ‘प्रतिद्वन्द्वी नभई साझेदार’ बन्नुपर्ने बताएका छन्। उनले दुई देशबीच शान्तिपूर्ण सहअस्तित्वको आधार परिवर्तन नभएको उल्लेख गर्दै थप स्थिर सम्बन्धको अपेक्षा व्यक्त गरेका छन्।

ट्रम्पका लागि सीको भ्रमण कूटनीतिक वार्तासँगै राष्ट्रिय प्रतिष्ठासँग पनि जोडिएको छ। मे महिनामा चीन भ्रमणका क्रममा आफूले पाएको भव्य स्वागतको प्रत्युत्तरस्वरूप ट्रम्पले ह्वाइट हाउसको साउथ लन, स्टेट फ्लोर र रोज गार्डेनमा विशेष समारोह आयोजना गर्ने तयारी गरेका छन्।

यद्यपि, वार्ताबाट ठूला उपलब्धि हासिल हुने अपेक्षा गरिएको छैन। विश्लेषकहरूका अनुसार नोभेम्बरमा समाप्त हुन लागेको व्यापार युद्धविरामलाई थप लम्ब्याउने र कृत्रिम बुद्धिमत्ताबाट उत्पन्न जोखिमबारे अध्ययन गर्ने सहमति हुन सक्ने सम्भावना छ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले चिनियाँ उपप्रधानमन्त्री हे लिफेङसँगको वार्तापछि व्यापार युद्ध रोक्न गरिएको सम्झौता जनवरी १० सम्म विस्तार गर्ने सहमति भएको बताएका छन्।

अमेरिका–चीन व्यापार तनावका क्रममा दुवै देशले एकअर्काका सामानमा लगाएको पारस्परिक शुल्क १०० प्रतिशतभन्दा माथि पुगेको थियो।

वार्तासँग परिचित स्रोतहरूका अनुसार केही वस्तुमा लगाइएका शुल्क घटाउने, लागुऔषध तस्करी नियन्त्रण गर्ने तथा दुई देशका सेनाबीच संवाद विस्तार गर्ने विषयमा पनि सहमति हुन सक्नेछ। ट्रम्पले चीनमा हिरासतमा रहेका अमेरिकी नागरिक तथा अन्य व्यक्तिको रिहाइको विषयसमेत उठाउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *