काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५३५ ग्राम सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
भारतको केरला राज्यस्थित ट्रिक्कलाङ्गोडका मोहम्मद चेरा थोडीलाई बिहीबार विमानस्थल सुरक्षा प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार संयुक्त अरब इमिरेट्स (यूएई)बाट फ्लाई दुबईको उडान नम्बर एफजेड–५७३ मार्फत मध्यान्ह १२ः३२ बजे काठमाडौं आएका थोडीमाथि शंका लागेर जाँच गरिएको थियो ।
जाँचका क्रममा उनले लगाएको भित्री पेन्टीभित्र प्लास्टिकमा पोको पारेर लुकाइराखेको अवस्थामा पहेँलो अर्धठोस पदार्थ फेला परेको प्रहरीले जनाएको छ । उक्त पदार्थको तौल करिब ५३५ ग्राम रहेको छ ।
बरामद पदार्थसहित थोडीलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
