खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको मुडेस्थित सिद्धेश्वरी आधारभूत विद्यालयका ६२ जना विद्यार्थीलाई ‘ट्र्याकसुट’ प्रदान गरिएको छ ।
विद्यालयका पूर्वप्रधानाध्यापक बिन्दा थापाले बुधबार बाल विकास केन्द्रदेखि कक्षा– ८ सम्मका विद्यार्थीलाई व्यक्तिगत खर्चमा न्यानो कपडा प्रदान गरेका हुन् ।
शिक्षण पेसाबाट अनिवार्य अवकाश लिनुभएकी पूर्वप्रधानाध्यापक थापाले रु एक लाख २३ हजार ५०० बराबरको ट्रयाकसुट विद्यार्थीलाई वितरण गरको विद्यालय प्रशासनले जानकारी दिएको छ । विद्यार्थीलाई शिक्षाप्रति आकर्षित गर्नुका साथै शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा प्रोत्साहन गर्ने उद्देश्यले न्यानो कपडा वितरण गरिएको पूर्वप्रधानाध्यापक थापाले बताए ।
आवश्यक पोसाक तथा शैक्षिक सामग्रीको अभाव हुँदा नियमित विद्यालय उपस्थितिमा असर पर्न सक्ने भएकाले आफूले व्यक्तिगत खर्चमा ट्रयाकसुट प्रदान गरेको पूर्वप्रधानाध्यापक थापाले जानकारी दिए ।
“अरूले विद्यार्थीलाई आवश्यक सामग्री तथा पोसाक उपलब्ध गराइदिने भन्दै आश्वासन मात्रै दिन गरेका थिए । आश्वासनमा मात्र सीमित नरही आफ्नै व्यक्तिगत खर्चमा विद्यार्थीलाई ट्र्याकसुट उपलब्ध गराएकी हुँ”, उनले भने, “आगामी दिनमा पनि विद्यालय र विद्यार्थीका लागि आफूले सकेको सहयोग गर्छु । मेरो सानो सहयोगले उनीहरुको शैक्षिक उन्नयनमा थोरै भए पनि हौसला मिल्ने अपेक्षा गरेकी छु ।”
विद्यालय प्रशासनका अनुसार आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकालाई पोसाक तथा शैक्षिक सामग्री जुटाउन कठिन हुने भएकाले यस्तो सहयोगले प्रत्यक्ष राहत पुग्नेछ । पूर्वप्रधानाध्यापक थापाले सो विद्यालयमा ३४ वर्ष सेवा गरेका थिए । उनले १४ वर्ष प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका थिए ।
