न्युयोर्क । संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभाअन्तर्गतको उच्चस्तरीय राजनीतिक बहस आजदेखि यहाँ प्रारम्भ भएको छ ।
यसपटकको महासभा मुख्य रूपमा ‘विश्वासको पुनःस्थापना, रूपान्तरणको व्यवस्थापन: सबैको लागि कार्य गर्ने संयुक्त राष्ट्रसङ्घ’ भन्ने नारामा केन्द्रित छ । विश्वका सरकार प्रमुख एवं प्रतिनिधिहरूले विश्वव्यापी रूपमा फैलिएका युद्ध, आणविक हतियारको सन्त्रास, गरिबीको चरम अवस्था र जलवायु सङ्कटले निम्तिएको मानवीय एवं पूर्वाधारको क्षतिलगायत विषयमा छलफल गर्नेछन् ।
उच्चस्तरीय राजनीतिक बहसमा परराष्ट्रमन्त्री शिशिर खनालले नेतृत्व गर्नुभएको प्रतिनिधिमण्डलले नेपालका तर्फबाट आज महासभामा सहभागिता जनाएको छ । उक्त प्रतिनिधिमण्डलमा परराष्ट्र सचिव अमृतबहादुर राई, स्थायी नियोग प्रमुख लोकबहादुर थापालगायत भ्रमण दलका सदस्यहरू, मिशनका कर्मचारीलगायत सहभागी रहेका छन् ।
यसपटकको राजनीतिक बहसमा प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार अपराह्न सम्बोधन गर्नुहुने कार्यतालिका रहेको छ । जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको पीडा, जलवायु न्याय, हानी तथा नोक्सानी कोषका विषयमा नेपाली प्रतिनिधिमण्डलको ध्यान केन्द्रित हुने जनाइएको छ ।
त्यसैगरी विश्व शान्ति, असंलग्नता, दिगो विकासका लक्ष्य, लैङ्गिक सहभागिता, समावेशितालगायत विषयमा विश्व मञ्चमा नेपालले आफ्ना धारणा प्रस्तुत गर्ने जनाइएको छ ।
