त्रिपुरेश्वर आगजनीमा ज्यान गुमाउने चालक अर्जुन दोङ, अर्काको लाइसेन्समा चलाउँथे बस

काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बसमा आगजनी हुँदा ज्यान गुमाएका चालक अर्जुन दोङ तामाङ रहेको खुलेको छ । ट्राफिक प्रहरीसँगको विवादपछि आफूले चलाएको बसमा आगो लगाएपछि गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार तामाङ मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–सिस्नेरीका बासिन्दा थिए । उनका बाबु श्यामबहादुर दोङ तामाङ र आमा बिनु तामाङ रहेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानमा अर्जुनले यसअघि पनि विभिन्न घटनामा अरू व्यक्तिको नाममा जारी भएका सवारीचालक अनुमतिपत्र तथा परिचयपत्र प्रयोग गरेको खुलेको छ । प्रहरीका अनुसार २०८२ कात्तिकमा बालाजुमा बस पल्टिँदा तीन जना घाइते भएको घटनामा उनले सुनील तामाङको नाममा रहेको लाइसेन्स प्रयोग गरेका थिए। त्यसपछि उनी फरार भएका थिए ।

त्यस्तै, करिब तीन महिनाअघि मलपानीमा ट्राफिक प्रहरीसँग अभद्र व्यवहार गरेको घटनामा उनले दाबा तामाङको नाममा जारी लाइसेन्स प्रयोग गरेको प्रहरीको भनाइ छ । त्रिपुरेश्वर घटनामा भने उनले दाबा लामाको नाममा रहेको लाइसेन्स प्रयोग गरेको खुलेको छ । सोही लाइसेन्सका आधारमा प्रहरीले सुरुमा उनलाई दाबा लामा भएको जानकारी दिएको थियो ।

अनुसन्धानका क्रममा अर्जुनले दाबा लामाको नाममा रहेको नागरिकता र बैंक खातासमेत प्रयोग गरेको खुलेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *