काठमाडौं । काठमाडौँ उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्न नौ स्थानीय तह एउटै कार्यक्रममा आबद्ध भएका छन् । काठमाडौँ महानगरपालिकाको नेतृत्वमा साझा यातायातसँग सहकार्य गरेर गत वैशाख १ गतेदेखि परीक्षणका रूपमा सञ्चालन गरिएको रात्रिकालीन यातायात सेवालाई विस्तार गरेर अगाडि बढाउन आवश्यकताका आधारमा दायित्व बहन गर्नेगरी स्थानीय तह साझा कार्यक्रममा आबद्ध भएका हुन् ।
रातको समयमा आवतजावत गर्ने सर्वसाधारण, व्यवसायी, उद्यमी, श्रमिक, अस्पताल जाने बिरामी तथा आन्तरिक एवं बाह्य पर्यटकलाई सहज, सुरक्षित र भरपर्दो यातायात सेवा उपलब्ध गराउने यसको उद्देश्यसहित संविधान दिवसको दिन पारेर स्थानीय तहका प्रमुखहरूले साझा यातायातसँग समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिका तथा बुढानिलकण्ठ नगरपालिका, गोदावरी नगरपालिका, चन्द्रागिरी नगरपालिका, कीर्तिपुर नगरपालिका, भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका र मध्यपुर थिमी नगरपालिकाले समझदारीपत्रमा हस्ताक्षर गरेका हुने । साझा यातायातका तर्फबाट अध्यक्ष शुशिलराज प्याकुरेलले हस्ताक्षर गर्नुभएको छ । साझा यातायातको कार्यालयमा आयोजना गरिएको समारोहमा हस्ताक्षर गरिएको हो । त्यसलगत्तै छ वटा रुटका लागि ३० वटा बस सञ्चालन थालिएको थियो ।
समारोहमा काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले संविधानले नागरिकका लागि प्रत्याभूत गरेका आधारभूत आवश्यकताको पहुँच बढाउँदै जाने क्रममा रात्रिकालीन बस सेवालाई थप विकास र विस्तार गर्दै लगिएको बताए । उनले भने, “परीक्षण कालमा अभ्यास गरिएको दुई वटा रुटमा चार वटा थपेका छौँ । सात वडा गाडीलाई ३० वटा पुर्याएका छौँ । चार वटा नगरपालिकाको सहकार्यमा नौ वटा पुगेका छौँ । यसलाई अझ विस्तार गर्ने र आवश्यकताका आधारमा आर्थिक दायित्व पनि वहन गर्ने गरी सहकार्य थालेका छौँ । अब यो सेवा रोकिँदैन । निरन्तर र दिगो रूपमा चल्छ ।”
कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले भने, “उपत्यकाबासीको यातायात सहजताका लागि सङ्घ सरकारबाट मेट्रो सञ्चालन गर्ने विषयमा योजना ल्याउनुपर्ने थियो । त्यो अहिले आएको देखिएन । मेट्रो नभएपछि बीआरटी (बस र्यापिड ट्रान्जिट) हुनुपथ्र्यो । त्यसको पनि केही सङ्केत छैन । सङ्घीय सरकारबाट केही आएन भनेर हामीले चुप लाग्ने अवस्था छैन । यसकारण स्थानीयस्तरमा सञ्चालनमा ल्याउन सकिने प्रणालीमा सहकार्य थालेका छौँ । यसलाई विकास र विस्तार गर्ने कार्यक्रमलाई निरन्तरता दिनेछौँ ।”
सर्वसाधारणले रातको समयमा सुरक्षित आवतजावत गर्ने एउटा भरपर्दो सेवा सुरु भएको बताउँदै उनले यो नागरिकसँग जोडिएको ठूलो उपलब्धिका रूपमा रहेको उल्लेख गरे ।
साझाका अध्यक्ष प्याकुरेलले भने, “साझाले स्थानीय तहलाई अभिभावक बनाउन पाउनु हाम्रो इतिहासका लागि पनि ठूलो उपलब्धि हो ।” विस्तारित सेवाअन्तर्गत जगाती-सूर्यविनायक हुँदै ठमेलसम्म छ, साबिक लगनखेल-बुढानिलकण्ठलाई विस्तार गरी गोदावरीसम्म छ, रिङरोडमा घडीको दिशामा र विपरीत दिशामा आठ, कीर्तिपुर-जमलमा चार, टाखेल-ठमेलमा दुई तथा साबिक नागढुङ्गा-एयरपोर्ट रुटमा चार वटा बस सञ्चालन गरिनेछ ।
यसअघि लगनखेलबाट बुढानीलकण्ठ तथा नागढुङ्गाबाट एयरपोर्टसम्म राति ८ः०० बजेदेखि ११ः०० बजेसम्म सात वटा बसमार्फत नमूना सेवा सञ्चालन गरिएको थियो । सेवाको प्रभाव तथा मूल्याङ्कन, लाभलागत विश्लेषणका आधारमा नाफाघाटाभन्दा सेवा ठूलो विषय भएको निष्कर्ष निकालिएको थियो ।
रात्रिकालीन बस सञ्चालनमा लाग्ने खर्च यात्रुबाट प्राप्त हुने टिकट आम्दानीले धान्न नसकेमा त्यसबाट अपुग हुने रकमको ५० प्रतिशत सम्बन्धित सात वटा नगरपालिकाले समान रूपमा ब्यहोर्ने र बाँकी ५० प्रतिशत रकम सम्बन्धित नगरपालिकाको जनसङ्ख्याका आधारमा काठमाडौँ महानगरपालिकाले १८ दशमलव ५५ प्रतिशत, ललितपुर महानगरपालिकाले १८ दशमलव ५५ प्रतिशत तथा अन्य सात नगरपालिकाले नौ प्रतिशतका दरले ब्यहोर्ने सहमति गरिएको छ । सेवा सञ्चालन गर्न खर्च नपुग भए साझा यातायातले त्रैमासिक रूपमा माग गर्ने सहमतिमा उल्लेख छ ।
रुटमा यात्रु चढ्ने तथा ओर्लने स्थान सम्बन्धित नगरपालिकाले निर्धारण गर्नेछन् । ती स्थानमा आर्थिक वर्ष २०८३/८४ भित्र डिजिटल साइनेज बोर्ड जडान गरी डिजिटल बस स्टप निर्माण तथा सञ्चालन गर्ने जिम्मेवारी साझा यातायातलाई दिइएको छ । सम्बन्धित नगरपालिकाले आवश्यक समन्वय तथा सहजीकरण गर्नेछन् ।
निर्धारित रुटको अन्तिम बिन्दुमा बस चार्जिङ स्टेसन निर्माणका लागि सम्बन्धित नगरपालिकाले आवश्यक जग्गा उपलब्ध गराउने र साझा यातायातले चार्जिङ स्टेसन जडान गर्ने दायित्व लिनेछ । चार्जिङ स्टेसनको सुरक्षाको जिम्मेवारी सम्बन्धित नगरपालिकाले लिनेछन् ।
सहमतिले यात्रुको चाप र आवश्यकता बढ्दै गएमा भविष्यमा अन्य क्षेत्रमा समेत यस प्रकारको बस सेवा विस्तार गर्ने बाटो खुला गरेको छ । चक्रपथमा यातायात सेवा प्राप्त भएपछि एक ठाउँमा बस परिवर्तन गर्दा सञ्चालन गरेका हरेक ठाउँमा पुग्न सकिनेछ । यसरी यात्रा गर्दा अधिकतम ८० रुपियाँ भाडा लाग्नेछ ।
टिकटबाट हुने आर्थिक चुहावट रोक्न साझाले यही असोज १ गतेदेखि डिजिटल टिकेटिङ प्रणाली विकास गरेको छ । यसमा क्यूआरबाट वा क्यास नै दिएर पनि टिकट लिन सकिनेछ । आर्थिक चुवावट रोकिएपछि साझाको घाटा रकम कम हुने अपेक्षा छ । साझा यातायातमा नेपाल सरकारको रु तीन अर्ब, काठमाडौँ महानगरपालिकाको रु १५ करोड शेयर लगानी छ । अहिले साझा यातायातमा १११ वटा बस छन् ।
