काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्वासी तथा श्रमिक समुदायका भूमिसम्बन्धी समस्या समाधानका लागि राज्यका प्रयासलाई थप प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।
भूमि अधिकार तथा श्रमिक सङ्गठन, नेपालको १५औँ स्थापना दिवसका अवसरमा बुधबार आयोजित ‘नेपालमा भूमि समस्या ः समाधानका प्रयास, उपलब्धि र चुनौती’ विषयक अन्तरक्रियामा महासचिव पोखरेलले सरकारले सम्बन्धित स्थानीय तह, सरोकार भएका पक्षसँग सघन छलफल गरेर दीर्घकालीन रुपमा समस्याको समाधान गर्नुपर्ने बताएका हुन् ।
कार्यक्रममा सहभागीले भूमिहीनता र अव्यवस्थित बसोबासका कारण गरिब, सुकुम्वासी तथा श्रमिक समुदायले भोग्दै आएका समस्या, भूमि अधिकारको सुनिश्चितता तथा भूमि सुधारका प्रयासबारे छलफल गरेका थिए ।
उनीहरूले भूमि अधिकार सुनिश्चित नहुँदा सम्बन्धित समुदाय आधारभूत सेवा तथा सामाजिक–आर्थिक अवसरबाट समेत वञ्चित हुने अवस्था रहेको उल्लेख गर्दै समस्या समाधानका लागि प्रभावकारी नीति तथा कार्यक्रमको कार्यान्वयनमा जोड दिएका थिए ।
