युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु

किएभ । दक्षिणी युक्रेनमा बुधबार बिहान रुसी ड्रोनले यात्रुवाहक बसलाई निशाना बनाउदा पाँच जनाको मृत्यु भएको छ भने कम्तीमा सात जना घाइते भएका छन् ।

युक्रेनको निप्रोपेट्रोभस्क क्षेत्रको निकोपोल जिल्लामा भएको आक्रमणमा पाँचै जनाको घटनास्थलमै मृत्यु भएको क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेक्सान्डर हान्झाले बताउनुभयो । घाइतेको उपचार भइरहेको छ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामजिक सञ्जाल ‘एक्स’मार्फत घटनालाई ‘बर्बरतापूर्ण कार्य’ भन्दै आक्रमणको कुनै सैन्य औचित्य नभएको बताएका छन् । उनले नागरिक यातायात तथा महत्वपूर्ण पूर्वाधारमाथि रुसले निरन्तर आक्रमण गरिरहेको आरोप लगाए ।

जेलेन्स्कीका अनुसार बुधबार माइकोलाइभ क्षेत्रमा यात्रुवाहक रेलमाथि पनि आक्रमण भएको छ । आक्रमण हुनुअघि रेलमा सवार करिब १७० यात्रुलाई सुरक्षित स्थानमा सारिएको थियो। आक्रमणबाट रेलवे स्टेसन र लोकोमोटिभमा क्षति पुगेको उनले बताए । उत्तर–पश्चिमी सहर कोभेलमा पनि विद्युतीय इन्जिनमाथि आक्रमण भएको उनको भनाइ छ ।

युक्रेनद्वारा नयाँ लोकोमोटिभको माग
युक्रेनका विदेशमन्त्री आन्द्री सिबिहाका अनुसार फेब्रुअरी २०२२ मा रुससँग युद्ध सुरु भएयता रुसी आक्रमणबाट युक्रेनको रेल सञ्जालका ५०० भन्दा बढी लोकोमोटिभ (रेलको इन्जिन) क्षतिग्रस्त वा नष्ट भएका छन्। तीमध्ये आधाभन्दा बढी घटना यसै वर्ष भएका उनको दाबी छ।

सिबिहाले रेल सञ्जालमाथिका आक्रमणलाई युक्रेनको रसद आपूर्ति प्रणालीमा अवरोध पु¥याउने योजनाबद्ध प्रयासका रूपमा व्याख्या गर्दै साझेदार राष्ट्रसँग नयाँ लोकोमोटिभ उपलब्ध गराउन तथा आर्थिक सहयोग गर्न आग्रह गरेका छन् । उनले युक्रेनको एक हजार ५२० मिलिमिटर रेल गेजसँग मिल्ने लोकोमोटिभ आवश्यक रहेको बताएका छन् ।

यसैबीच, जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र रुसबीच ऊर्जा पूर्वाधारमाथि आक्रमण रोक्ने सहमति भएको भनी गरेको दाबीलाई खण्डन गरेका छन् । उनले रुसले युक्रेनी ऊर्जा केन्द्रमाथि आक्रमण रोक्ने हो भने युक्रेन त्यस्तो सम्झौताका लागि तयार रहेको बताए ।

किएभ क्षेत्रीय सैन्य प्रशासनका प्रमुख टिमुर टकाचेन्कोका अनुसार मङ्गलबारदेखि बुधबार बिहानसम्म किएभ क्षेत्रमा १७ स्थानमा क्षति पुगेको छ । क्षतिग्रस्त संरचनामा निजी घर, सवारीसाधन, नगरपालिका भवन, ह्याङ्गर र उत्पादन केन्द्र रहेका छन्।

यसैबीच, रुसी रक्षा मन्त्रालयले रातभरिमा ७१ वटा युक्रेनी ड्रोन खसालेको जनाएको छ । बेलगोरोड क्षेत्रमा युक्रेनी आक्रमणबाट एक जनाको मृत्यु भएको र चार जना घाइते भएको कार्यवाहक गभर्नर अलेक्जेन्डर शुभायेभले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *