सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने निर्णय गरेको छ ।
शनिबार बसेको मन्त्रिपरिषद् बैठकले बजेटको पुनरावलोकन तथा परिमार्जनसहित पुनर्लेखनका लागि तत्काल प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलले बजेट निर्माणका लागि आवश्यक नीतिगत, कानुनी तथा प्राविधिक प्रक्रिया अगाडि बढाउन आर्थिक मामिला मन्त्रालयलाई अधिकार प्रदान गर्ने निर्णय गरिएको जानकारी दिए ।
‘बजेट होलिडेको अवस्था रहेकाले नवगठित सरकारका नीतिगत प्राथमिकताका आधारमा बजेट निर्माणको काम तत्काल अगाडि बढाउने निर्णय भएको छ,’ उनले भने, ‘यस प्रक्रियालाई प्रभावकारी र व्यवस्थित रूपमा अघि बढाउँदै आवश्यक संशोधन तथा परिमार्जन गरी अन्तिम रूप दिने प्रक्रिया तीव्र बनाउने र त्यसको अधिकार आन्तरिक मामिला मन्त्रालयलाई दिने निर्णय भएको छ ।’
यसैगरी, विगत १० महिनादेखि प्रदेशको प्रमुख सचिवका रूपमा कार्यरत वैकुण्ठप्रसाद अर्यालको सरुवा भएकाले धन्यवादसहित बाँकी शुभकामना दिने निर्णय गरिएको छ ।
