काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको निर्वाचन समीक्षा तथा पुनर्गठनसम्बन्धी दुई प्रतिवेदनमा फरक धारणा देखिएको भन्दै प्रश्न उठाएका छन्।
भट्टराईले सामाजिक सञ्जालमार्फत २०८२ फागुन २१ गतेको निर्वाचनपछि तयार भएको निर्वाचन समीक्षा प्रतिवेदन र पछिल्लो समय सार्वजनिक भएको प्रतिवेदनबीच तुलनात्मक अध्ययन गर्न आग्रह गरेका हुन्।
उनका अनुसार उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा गठित केन्द्रीय निर्वाचन परिचालन कमिटीले तयार पारेको ९६ पृष्ठको प्रतिवेदनमा निर्वाचनमा भएको हारको नैतिक जिम्मेवारी पार्टी नेतृत्वले लिनुपर्ने उल्लेख थियो।
प्रतिवेदनको पृष्ठ ३८ मा ५७.९ प्रतिशतले हारको नैतिक जिम्मेवारी पार्टी नेतृत्वले लिनुपर्ने धारणा राखिएको र पृष्ठ ५१ मा निर्णायक तहमा रहेका वरिष्ठ नेताहरूलाई मार्गदर्शकका रूपमा सम्मानित गर्दै नेतृत्व हस्तान्तरणको विषय उठाइएको भट्टराईले बताएका छन्।
पार्टी पुनर्गठनको विषय उठेपछि केन्द्रीय सचिवालयले पुनः बादलकै संयोजकत्वमा ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल–२०८३’ गठन गरेको उनले उल्लेख गरेका छन्। उक्त कार्यदलको बैठकले महासचिव शंकर पोखरेललाई प्रतिवेदनको मस्यौदा तयार गर्ने जिम्मेवारी दिएको भट्टराईको भनाइ छ।
महासचिव पोखरेलले प्रतिवेदन तयार गरी पार्टी नेतृत्वलाई बुझाएको समाचारबाट जानकारी पाए पनि लामो समयसम्म त्यसबारे थप जानकारी नपाएको उनले बताएका छन्।
दुई दिनअघि बादलले अर्को प्रतिवेदन तयार गरेको समाचारबाट थाहा पाएको र उक्त प्रतिवेदन सार्वजनिक भएपछि आफूहरूले पढ्ने मौका पाएको भट्टराईले बताएका छन्।
‘दुवै कमिटी बादल कमरेडकै संयोजकत्वमा गठन भएका छन्। पार्टी पुनर्गठनका बारेमा पहिलो र दोस्रो प्रतिवेदनमा बिल्कुल विपरीत लेखाइ देखिन्छ। किन होला?’ भट्टराईले प्रश्न गरेका छन्।
