सियोल । दक्षिण कोरियाको सियोल परिवार अदालतले भिडियो गेम कम्पनी स्माइलगेटका संस्थापक क्वोन ह्युक–बिनलाई सम्बन्धविच्छेदका क्रममा पूर्व पत्नीलाई २० खर्ब वन अर्थात् एक अर्ब ५० करोड अमेरिकी डलरभन्दा बढी रकम तिर्न र कम्पनीको ३५ प्रतिशत सेयर हस्तान्तरण गर्न आदेश दिएको छ ।
अदालतले क्वोन र उनकी पत्नीबीचको सम्बन्धविच्छेद स्वीकृत गर्दै करिब २५ खर्ब वन मूल्यको सेयर तथा ६५ अर्ब वन नगद हस्तान्तरण गर्न आदेश दिएको हो । स्थानीय सञ्चारमाध्यमका अनुसार क्वोनकी पूर्व पत्नी लीले सन् २०२२ मा सम्बन्धविच्छेदका लागि निवेदन दिँदै स्माइलगेटमा आधा हिस्सेदारी दाबी गरेकी थिइन् । उनले कम्पनी स्थापना तथा प्रारम्भिक व्यवस्थापनमा योगदान गरेको र घरेलु काममार्फत समेत सहयोग गरेकाले सम्पत्तिमा हिस्सा पाउनुपर्ने दाबी गरेकी थिइन् ।
क्वोनले सन् २००२ मा स्माइलगेट स्थापना गरेका थिए । उनको कुल सम्पत्ति करिब ८० खर्ब वन रहेको बताइएको छ । अदालतले दुवै पक्षलाई विवाह विच्छेदका लागि समान रूपमा जिम्मेवार ठहर गर्दै सम्बन्धविच्छेद स्वीकृत गरे पनि लीले माग गरेको थप क्षतिपूर्ति भने अस्वीकार गरेको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार क्वोनले ली कम्पनीकी सहसंस्थापक नभएको र व्यवस्थापनमा प्रत्यक्ष संलग्न नरहेको दाबी गर्दै आएका थिए ।
यसअघि एसके समूहका अध्यक्ष चे ताई–विनलाई पनि पूर्व पत्नी रोह सोह–योङलाई ६६ करोड ६० लाख अमेरिकी डलर तिर्न आदेश दिइएको थियो । सियोल उच्च अदालतले जुलाईमा वैवाहिक सम्पत्तिमा रोहको हिस्सा निर्धारण गर्दै उक्त फैसला सुनाएको थियो ।
क्वोनको फैसलाले दक्षिण कोरियामा ठूला प्रविधि तथा गेमिङ व्यवसायका सम्पत्तिमा सम्बन्धविच्छेदपछि पति–पत्नीको अधिकारबारे बहसलाई थप चासोको विषय बनाएको छ ।
