जेनजी आन्दोलनको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्छः प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलनका क्रममा भएको दमन, हिंसा, आगजनी तथा तोडफोडको निष्पक्ष, स्वतन्त्र र तथ्यमा आधारित छानबिन गर्न माग गरेका छन् ।

जेनजी आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको अवसरमा बुधबार वक्तव्य जारी गर्दै प्रचण्डले आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवार, घाइते तथा प्रभावितप्रति समवेदना व्यक्त गरेका छन् ।

उनले जेनजी आन्दोलन प्रारम्भमा अभिव्यक्ति स्वतन्त्रता, सुशासन, भ्रष्टाचारविरुद्धको खबरदारी र नयाँ पुस्ताको भविष्यप्रतिको चिन्ताबाट उत्पन्न सामाजिक सञ्जाल प्रेरित आन्दोलन भएको बताएका छन् । युवाको आवाजलाई संवेदनशील रूपमा सम्बोधन गर्नुको सट्टा राज्यले दमनको बाटो रोजेको र त्यसपछि उत्पन्न परिस्थितिको फाइदा उठाउँदै ‘सन्दिग्ध तत्व’हरूले आन्दोलनलाई अपहरण गरेको उनको आरोप छ।

प्रचण्डले भदौ २४ गते सिंहदरबार, संसद् भवन, राष्ट्रपति भवन, सर्वोच्च अदालत, राष्ट्रिय अभिलेखालय, सरकारी तथा प्रहरी कार्यालय र राजनीतिक दलका कार्यालयलगायत सार्वजनिक तथा निजी सम्पत्तिमा लुटपाट, आगजनी र विध्वंस भएको उल्लेख गरेका छन् ।

आन्दोलन हिंसात्मक बन्न थालेपछि वास्तविक जेनजी अभियन्ताहरूले नै ‘घुसपैठ भयो’ र ‘घर फर्कौं’ भनेको दाबी गर्दै उनले युवाको जायज असन्तुष्टि र त्यसलाई हिंसा, लुटपाट तथा विध्वंसमा परिणत गर्ने नियोजित कार्यलाई एउटै दृष्टिले हेर्न नहुने बताएका छन्।

‘प्रतिक्रान्तिकारी विध्वंस’ले भदौ २४ गतेलाई नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा कालो दिनका रूपमा स्थापित गरेको प्रचण्डको भनाइ छ।

सामाजिक सञ्जालमाथिको प्रतिबन्धदेखि नै आफ्नो पार्टी अभिव्यक्ति स्वतन्त्रता र जनताको लोकतान्त्रिक अधिकारको पक्षमा रहेको दाबी गर्दै उनले आफ्नो नेतृत्वमा रहेको सरकारलाई हठात् हटाइएको बताएका छन्। ‘हामी न गोली चलाउने पक्षका थियौँ, न सिंहदरबार जलाउने’ भन्दै उनले जेनजी विद्रोहका नाममा आफ्नो पार्टी, नेतृत्व र राजनीतिक शक्तिमाथि भएको आक्रमणलाई सामान्य राजनीतिक घटनाका रूपमा स्वीकार गर्न नसकिने बताएका छन्।

प्रचण्डले घटनाको सत्य स्थापित गर्न ‘को दोषी थियो, आन्दोलनमाथि दमन किन र कसरी भयो, कसले आन्दोलन भड्कायो, कसले हिंसा, लुटपाट र विध्वंस मच्चायो र त्यसबाट लाभ कसले उठायो’ भन्ने प्रश्नको जवाफ खोज्नुपर्ने बताएका छन्।

दोषी जोसुकै भए पनि राजनीतिक पहुँच वा शक्तिका आधारमा उन्मुक्ति दिन नहुने भन्दै उनले कानुनको दायरामा ल्याउन माग गरेका छन्।

प्रधानमन्त्रीले राजीनामा दिएपछि पनि लुटपाट, तोडफोड र आगजनी जारी रहनु, संगठित समूहको परिचालन देखिनु तथा प्रज्वलनशील पदार्थ प्रयोग भएका घटनाले घटनापछाडिका गम्भीर प्रश्नलाई थप बलियो बनाएको उनको भनाइ छ। त्यसपछि भएका संसद् विघटन, गैरदलीय सरकार गठन र निर्वाचन घोषणालगायतका घटनाक्रमले पनि थप अनुसन्धान आवश्यक रहेको उनले बताएका छन्।

राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनले समेत जेन–जी आन्दोलनका क्रममा भएको दमन, हिंसा तथा तोडफोडमा संलग्न विभिन्न पक्षमाथि अनुसन्धान तथा कारबाहीको आवश्यकता औँल्याएको उल्लेख गर्दै प्रचण्डले आयोगको प्रतिवेदन कार्यान्वयन गर्न माग गरेका छन्।

प्रचण्डले जेनजी आन्दोलनले उठाएका माग र त्यसपछि भएको परिवर्तनमाथि समेत प्रश्न उठाएका छन् । भ्रष्टाचार अन्त्य, सुशासन, रोजगारी तथा अवसरको विस्तार र जनताप्रति उत्तरदायी राज्यको अपेक्षा गरेका नागरिक फेरि निराश बनेको उनको दाबी छ। महँगी बढेको, अर्थतन्त्र शिथिल बनेको, व्यवसायी निराश रहेको र रोजगारीका अवसर पर्याप्त नभएको उल्लेख गर्दै उनले युवाहरू विदेशिने क्रम बढिरहेको बताएका छन्।

सार्वजनिक ऋण बढिरहेको, जनतामाथि करको बोझ थपिएको तथा विपद्का बेला समेत नागरिकले समयमै उद्धार, राहत र पुनःस्थापना पाउन नसकेको आरोप उनले लगाएका छन्।

नयाँ सरकारले संविधान संशोधनका नाममा संविधानका मूलभूत संरचनामै व्यापक फेरबदल गर्ने प्रस्ताव अघि सारेको भन्दै प्रचण्डले आपत्ति जनाएका छन्। संविधान संशोधन समयको आवश्यकता हुन सक्ने भए पनि नेपाली जनताको लामो संघर्षबाट प्राप्त उपलब्धि समाप्त गर्ने साधन बन्न नसक्ने उनको भनाइ छ।

संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षता, सामाजिक न्याय, मौलिक हक, नागरिक स्वतन्त्रता र जनताको सार्वभौमसत्तालाई ऐतिहासिक उपलब्धि भन्दै उनले यी उपलब्धि कमजोर पार्ने वा निरंकुशताको बाटो खोल्ने कुनै पनि प्रयासको दृढतापूर्वक प्रतिवाद गर्ने बताएका छन्।

जेनजी आन्दोलनले युवाको आवाज दबाएर होइन, सुनेर र सम्बोधन गरेर मात्र लोकतन्त्र बलियो हुने सन्देश दिएको प्रचण्डको भनाइ छ। लोकतन्त्रका कमजोरीको उपचार लोकतन्त्र समाप्त गर्नु नभई त्यसलाई अझ उत्तरदायी, पारदर्शी, जनमुखी र परिणाममुखी बनाउनु रहेको उल्लेख गर्दै उनले यसलाई ‘लोकतन्त्रको सर्भिसिङ’ भनेका छन्।

आफ्नो पार्टीले विगतका अभ्यास र अनुभवबाट शिक्षा लिँदै पार्टी शुद्धीकरण, संगठनात्मक पुनर्निर्माण र राजनीतिक रूपान्तरणको प्रक्रिया अघि बढाउने प्रतिबद्धता पनि प्रचण्डले व्यक्त गरेका छन्।

उनले जनताको बलिदानपूर्ण संघर्षबाट प्राप्त अधिकारको रक्षा गर्दै प्रतिगामी, निरंकुश र जनविरोधी प्रवृत्तिविरुद्ध शान्ति, संविधान र लोकतन्त्र पक्षधर राजनीतिक शक्ति, युवा पुस्ता, नागरिक समाज तथा आम नेपाली जनतालाई एकताबद्ध हुन अपील गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *