भोटेकोशी बाढीका मृतकप्रति अध्यक्ष ओलीद्वारा श्रद्धाञ्जली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपीशर्मा ओलीले भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारको राहत, पुनःस्थापना र पुनःनिर्माणलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन् ।

भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाको १३औँ पुण्यतिथिका दिन आज शोक वक्तव्य जारी गर्दै अध्यक्ष ओलीले मृतकप्रति पार्टी र व्यक्तिका तर्फबाट भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका हुन् । उनले बाढीबाट भएको अकल्पनीय क्षतिले सबैलाई स्तब्ध र मर्माहत बनाएको बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले प्रियजन गुमाएका शोकसन्तप्त परिवार तथा आफन्तप्रति गहिरो समवेदना व्यक्त गर्दै दुःखको यस घडीमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरे । बाढीपछि बेपत्ताको खोजी, उद्धार, राहत तथा पुनःस्थापनामा खटिएका विभिन्न निकाय र सङ्घसंस्थाप्रति उनले धन्यवाद व्यक्त गरे ।

एमालेका स्वयंसेवक, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, प्रदेश तथा स्थानीय सरकार, स्थानीय जनसमुदाय, विभिन्न सामाजिक सङ्घसंस्था र अन्तरराष्ट्रिय समुदायले पुर्‍याएको सहयोगप्रति ओलीले आभार व्यक्त गरे ।

‘हराइरहेका दाजुभाइ तथा दिदीबहिनीको सकुशल उद्धारमा सफलता मिल्ने’ आशा व्यक्त गर्दै अध्यक्ष ओलीले खोजी तथा उद्धारकार्यलाई प्रभावकारी ढङ्गले  निरन्तरता दिनुपर्ने माग राखे । बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि बाँकी राहत, पुनःस्थापना र पुनःनिर्माणका कामलाई अझ प्रभावकारी रूपमा अघि बढाउन सरकार र सम्बन्धित निकायसँग आग्रह गर्दै उनले आवश्यक समन्वय र सहकार्य र आफूहरू तयार रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *