काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ग्रीन आर्मी संस्था खारेज गर्न माग गरेको छ । पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकले ग्रीन आर्मी संस्था खारेज गर्न माग गरेको हो ।
बैठकद्वारा पारित विशेष प्रस्तावमा भनिएको छ, ‘गम्भीर विपद् र संकटको मौका छोपी निहित स्वार्थ सिद्ध गर्न खोज्ने कुनै पनि दुष्प्रयासलाई नियन्त्रण गरियोस् । यस सन्दर्भमा बाढीग्रस्त क्षेत्रमा दज्र्यानी चिन्हसहित सेनासँग मिल्दोजुल्दो युद्ध पोशाक र शैलीमा देखापरेको कथित ’ग्रीन आर्मी’ भन्ने संस्था तत्काल खारेज गरियोस्।’
बैठकले भोटेकोसी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै खोज तथा उद्धारलाई उच्च प्राथमिकता दिन सरकारसँग माग गरेको छ। भग्नावशेष, जलविद्युत् आयोजनाका सुरुङ तथा विद्युतगृहलगायत क्षेत्रमा मानिस फसेको वा पुरिएको हुनसक्ने भन्दै आवश्यक प्रविधि, उपकरण र विज्ञ जनशक्तिसहित व्यवस्थित खोज तथा उद्धार अभियान सञ्चालन गर्न सरकारसँग माग गरिएको छ ।
पार्टीले बाढी प्रभावित सबै नागरिकलाई राहत सुनिश्चित गर्दै वृद्धवृद्धा, गर्भवती, सुत्केरी, बालबालिका, बिरामी, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहलाई प्राथमिकतामा राख्न माग गरेको छ। खाद्यान्न, पानी, औषधि, ग्यास, इन्धन र लत्ताकपडालगायत अत्यावश्यक सामग्री तत्काल उपलब्ध गराउन पनि प्रस्ताव गरिएको छ।
