मियामी विमानस्थलमा अमेजनको कार्गो विमान दुर्घटना, पाँच जनाको मृत्यु

मियामी । अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा अमेजन एयरको कार्गो विमान धावनमार्गबाट बाहिरिएर दुर्घटनाग्रस्त हुँदा पाँच जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

स्थानीय समयअनुसार आइतबार दिउँसो करिब २ बजे बोइङ ७६७–३०० कार्गो विमान दुर्घटनामा परेको हो । पोर्टो रिकोको सान जुआनस्थित लुइस मुनोज मारिन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको विमानले अवतरणका क्रममा धावनमार्ग पार गरेको थियो।

दुर्घटनाका क्रममा विमानले जमिनमा रहेका केही सवारीसाधनलाई समेत ठक्कर दिएको थियो। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको मियामी फायर चिफ राइड जादाल्लाहले बताएका छन्। केही घाइते सवारीसाधनभित्र तथा सवारीसाधनमुनि फसेका थिए।

दुर्घटनापछि २०० भन्दा बढी अग्नि नियन्त्रक तथा उद्धारकर्मी घटनास्थलमा परिचालन भएका थिए। विमानमा लागेको आगो नियन्त्रणमा लिए पनि घटनास्थलमा इन्धन चुहावट भइरहेको अधिकारीहरूले बताएका छन्।

दुर्घटनालगत्तै संघीय उड्डयन प्रशासन (एफएए) ले मियामी विमानस्थलबाट हुने सबै उडान रोक्न आदेश दिएको थियो । दुर्घटनाको कारण खुलेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *