सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित

संयुक्त राष्ट्रसंघ। सिरियामा युद्धका क्रममा छाडिएका बारुदी सुरुङ तथा अन्य विस्फोटक पदार्थका कारण सर्वसाधारणको ज्यान जाने जोखिम बढेको भन्दै संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ।

संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालयका अनुसार विस्फोटक पदार्थको जोखिमले मानिसहरू बसोबास गर्ने स्थान मात्र नभई उनीहरूको आवतजावत, कामकाज र परिवारको जीविकोपार्जनमा समेत असर गरिरहेको छ।

कार्यालयका अनुसार पछिल्लो एक सातामा सिरियाका छ वटा प्रान्तमा विस्फोटक पदार्थसँग सम्बन्धित १२ वटा घटना भएका छन्। ती घटनामा नौ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। मृत्यु हुनेमध्ये छ जना बालबालिका रहेका छन्।

उत्तरी सिरियाको रक्का प्रान्तमा विस्फोटक पदार्थसम्बन्धी सबैभन्दा धेरै घटना भएका छन्। यसले युद्धका क्रममा छाडिएका विस्फोटक अवशेषको जोखिम अझै कायम रहेको देखाएको संयुक्त राष्ट्रसंघले जनाएको छ।

सन् २०२४ डिसेम्बर ८ देखि हालसम्म सिरियाभर विस्फोटक पदार्थसँग सम्बन्धित १ हजार ४ सयभन्दा बढी घटना अभिलेख गरिएको छ। ती घटनामा करिब दुई हजार ५ सय सर्वसाधारण प्रभावित भएका छन् भने ८८० जनाको मृत्यु भएको छ।

संयुक्त राष्ट्रसंघका अनुसार दुई तिहाइभन्दा बढी घटना कृषि तथा पशु चराउने क्षेत्रमा भएका छन्। यसले किसान, पशुपालक तथा गाउँहरूबीच आवतजावत गर्ने मानिसलाई उच्च जोखिममा पारेको छ।

जोखिम कम गर्न ठूलो स्तरमा बारुदी सुरुङ तथा अन्य विस्फोटक पदार्थ हटाउने अभियान तत्काल आवश्यक रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ। साथै, विस्फोटक पदार्थबाट हुने जोखिमबारे सर्वसाधारणलाई जानकारी दिने, प्रभावित व्यक्तिलाई आवश्यक सहायता उपलब्ध गराउने र जोखिमयुक्त क्षेत्र सफा गर्ने कामलाई प्राथमिकता दिनुपर्नेमा मानवीय क्षेत्रमा काम गर्ने संस्थाहरूले जोड दिएका छन्।

यस्ता प्रयासबाट सर्वसाधारणलाई सुरक्षित रूपमा घर फर्किन र जोखिमबाट मुक्त भएर आफ्नो दैनिक जीवन पुनः सुरु गर्न सहयोग पुग्ने संयुक्त राष्ट्रसंघले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *