प्रकृति जोगाउने अभियानमा ‘आर्मी’ नाम किन ?

-धनराज आचार्य

नेपालमा वातावरण संरक्षण, प्राकृतिक स्रोतको संरक्षण, जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण तथा मानवीय सेवाका क्षेत्रमा लामो समयदेखि थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था सक्रिय छन्। नेपाल रेडक्रस, नेपाल स्काउट, लायन्स अन्तर्राष्ट्रिय , रोटरी, जेसिस, विभिन्न ग्रीन क्लबहरूदेखि WWF, ICIMOD, ACAP लगायतका संस्थाहरूसम्मले वातावरण, वन–जंगल, जलाधार, जैविक विविधता, हिमाली क्षेत्र, भूकम्प तथा अन्य विपद्का समयमा राहत, पुनर्स्थापना, अनुसन्धान र समुदायको क्षमता अभिवृद्धिमा निरन्तर योगदान दिँदै आएका छन्।

यी संस्थाहरू नामका संस्था मात्र होइनन्। वर्षौँदेखि समाजसँग भिजेका, समुदायले अपनत्व महसुस गरेका र आफ्नो नागरिक तथा सामाजिक पहिचान स्थापित गरेका संस्थाहरू हुन्। त्यसैले वातावरण संरक्षण ,मानबिय सेवा वा विपद् व्यवस्थापनका क्षेत्रमा नयाँ अभियान र नयाँ पुस्ताको सहभागितालाई पनि सकारात्मक रूपमा लिनुपर्छ भन्ने मेरो मान्यता छ। तर, यही सन्दर्भमा अहिले चर्चामा रहेको ‘Green Army Nepal’ नामकरणबारे भने केही जरुरी प्रश्न उठाउन आवश्यक देखिन्छ।

‘Army’ जस्तो सैनिक अर्थ दिने नाम, ‘Chief Marshal’ जस्ता सैनिक पदावली, सैनिक पोशाक, तालिम, दर्ज्यानि चिन्न , दिक्षान्त समारोह ,अनुशासन र संगठनात्मक संरचनाले एउटा सामान्य नागरिक स्वयंसेवी संस्थाभन्दा फरक किसिमको अर्थ र मनोविज्ञान निर्माण गर्न सक्छ। मेरो प्रश्न कुनै व्यक्ति वा संस्थाको नियतमाथि होइन, नाम, स्वरूप र त्यसले भविष्यमा पार्न सक्ने प्रभावबारे हो।

हाम्रो आफ्नै देशको राजनीतिक इतिहासमा पनि राज्यका औपचारिक संरचनासँग समानान्तर देखिने संगठनात्मक संरचना ( फौजी ) र शक्ति–सञ्जालका अनुभवहरू छन्। त्यसैले आज कुनै संस्थाले राम्रो उद्देश्य लिएर काम गरिरहेको भए पनि, भोलिका दिनमा त्यस्तो संगठित जनशक्ति, नेटवर्क, अनुशासन र संरचना मूल उद्देश्यभन्दा बाहिर प्रयोग वा दुरुपयोग हुन सक्ने सम्भावनालाई सुरुदेखि नै गम्भीरतापूर्वक विचार गर्नु राज्य र समाज दुवैको जिम्मेवारी हो।

यसलाई कुनै पूर्वाग्रह वा विरोधका रूपमा होइन, सामाजिक संस्थाहरूको विकास, नागरिक समाजको मर्यादा र राज्यको संवेदनशील सुरक्षा संरचनाप्रतिको हाम्रो साझा जिम्मेवारीका रूपमा हेर्नुपर्छ भन्ने मेरो धारणा हो। वातावरण संरक्षणका लागि नेपालमा नागरिक स्वयंसेवकको कमी छैन। बरु विद्यमान संस्थाहरूबीच सहकार्य र समन्वय बढाएर अझ ठूलो नागरिक शक्ति निर्माण गर्न सकिन्छ। प्रकृति जोगाउने अभियानलाई सैन्य पहिचानभन्दा नागरिक स्वयंसेवा, सामाजिक उत्तरदायित्व र सामुदायिक अपनत्वले अझ दिगो र व्यापक बनाउन सक्छ।

त्यसैले ‘Green Army Nepal’ का अभियन्ताहरूको उद्देश्य र उत्साहप्रति सम्मान गर्दै, यसको नाम, पदावली, पोशाक र संगठनात्मक स्वरूपलाई नागरिक स्वयंसेवी चरित्रअनुकूल बनाउने विषयमा पुनर्विचार गर्नु पर्छ भन्ने विनम्र सुझाव राख्न चाहन्छु। उद्देश्यमा होइन, स्वरूप र सँङ्गठनात्मक ढाचा , प्रोटिकल, र नामकरणमा मेरो प्रश्न हो। वातावरण संरक्षणको अभियान बलियो बनोस्, विपद्का बेला नागरिक शक्ति अझ संगठित होस्-तर त्यो शक्ति नागरिक चरित्रमै रहोस्। यो बिषय सार्वजनिक छलफल र बहसको बिषय बनोस् ।

(आचार्य पोखरा महानगरपालिकाका मेयर हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *