जसपा नेपालद्वारा पार्टी निर्णयविपरीत काम गर्ने २१ जना पार्टीबाट निष्कासित

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा), नेपालले ‘नेपालको वर्तमान राजनीतिक अवस्था र जसपा, नेपालको रणनीतिक दिशा’ विषयक राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ। भदौ १६ देखि १८ गतेसम्म ललितपुरको बालकुमारीमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीको केन्द्रीय समितिको बैठक आगामी असोज १३, १४ र १५ गते काठमाडौँमा आयोजना गर्ने निर्णयसमेत गरेको छ ।

यसैगरी, पार्टीको नीति, सिद्धान्त, विधान, निर्णय तथा निर्देशनविपरीत कार्य गरेको भन्दै विभिन्न तहमा निर्वाचित जनप्रतिनिधि तथा पार्टीका कार्यकर्तालाई अनुशासनको कारबाही गर्दै साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरिएको छ।

लुम्बिनी प्रदेश सरकारको पक्षमा पार्टीको निर्णयविपरीत मतदान गरी सरकारमा सहभागी भएको भन्दै प्रदेश सभा सदस्यहरू सन्तोषकुमार पाण्डेय, हेमा बेल्वासे (केसी), भण्डारीलाल अहिर र आदेशकुमार अग्रवाललाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरिएको जसपाले जनाएको छ।

त्यस्तै, सिरहा, पर्सा, कोशी प्रदेश, खोटाङ, भोजपुर, उदयपुर, इलाम र सुनसरीलगायत जिल्लाका विभिन्न स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि तथा पार्टीका कार्यकर्तालाई पनि विधानबमोजिम अनुशासनको कारबाही गर्दै पार्टी सदस्यताबाट निष्कासन गर्ने निर्णय गरिएको छ।

बैठकले ‘अग्रगामी मोर्चा’ गठनको स्वागत तथा समर्थन गर्दै मोर्चाले घोषणा गर्ने कार्यक्रमलाई सफल बनाउन पार्टीका सम्पूर्ण पंक्तिलाई सक्रिय सहभागिता जनाउने निर्णय गरेको छ।

पार्टी संगठन सुदृढीकरण तथा कार्यकर्ता अभिमुखीकरणका लागि पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु र दाङमा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण आयोजना गर्ने निर्णयसमेत बैठकले गरेको छ। पश्चिम नवलपरासीमा भदौ २१ र रुपन्देहीमा भदौ २२ गते कार्यक्रम आयोजना गरिने जसपाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *