लमजुङ । निर्माण सुरु भएको सात वर्ष बित्न लाग्दा पनि लमजुङको क्व्होलासोथार गाउँपालिकाको बाग्लुङपानी–घलेगाउँ–भुजुङ सडक आयोजना सम्पन्न हुन सकेको छैन ।
३० असोज २०७६ सालमा निर्माण सम्झौता भएको १७ किलोमिटर सडक २९ असोज २०७८ सालभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । पटकपटक म्याद थप्दा पनि निर्माण कम्पनीले काम सम्पन्न गर्न सकेको छैन ।
क्व्होलासोथार गाउँपालिका–१ बाग्लुङपानीदेखि वडा नं ३ घलेगाउँसम्मको १० किलोमिटर सडक कालोपत्र र घलेगाउँदेखि वडा नं ४ भुजुङसम्मको सात किलोमिटर सडक ग्राभेल गर्ने गरी आयोजना अघि बढाइएको थियो ।
कान्छाराम कन्स्ट्रक्सनले ३६ करोड ६६ लाख ६८ हजार १७५ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । पहिलोपटक तोकिएको समयमा निर्माण सम्पन्न हुन नसकेपछि २०७९ असोज २९ गतेसम्म म्याद थप गरिएको थियो ।
सो अवधिमा पनि काम सम्पन्न नभएपछि पुनः २८ असार २०८१ सालसम्म म्याद थप गरिएको थियो । थपिएको समयमा निर्माण पूरा नभएपछि ३० चैत २०८२ सालसम्म पुनः समय थप गरियो ।
हाल आयोजनाको म्याद थप भएको छैन । सरकारले सार्वजनिक खरिद ऐन संशोधन गरी राजपत्रमा सूचना प्रकाशित गरेपछि तोकिएको मापदण्ड पूरा गर्ने निर्माण व्यवसायीलाई पुनः म्याद थप गरी काममा लगाउन सकिने व्यवस्था गरेको छ । सो व्यवस्थाअनुसार निर्माण व्यवसायीले तोकिएको अवधिभित्र निवेदन दिनुपर्ने र आवश्यक प्रगति हासिल गर्ने आधार प्रस्तुत गरेमा बाँकी काम अगाडि बढाउन सकिने प्रावधान छ ।
पूर्वाधार विकास कार्यालयका परामर्शदाता राजेश अधिकारीका अनुसार सोही व्यवस्थाअनुसार कान्छाराम कन्स्ट्रक्सनले साउन ४ गते म्याद थपका लागि निवेदन दिएको छ । आवश्यक प्रक्रिया पूरा भएपछि बाँकी निर्माण कार्य अगाडि बढाउन सकिने उनले बताए ।
सो सडक गण्डकी प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको हो । परामर्शदाता अधिकारीका अनुसार आयोजनाको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको छ भने ७४ प्रतिशत वित्तीय प्रगति भएको छ । हालसम्म रु २७ करोड ३७ लाख ४६ हजार ९८२ बराबरको रकम भुक्तानी भइसकेको छ ।
बाग्लुङपानीदेखि घलेगाउँसम्मको १० किलोमिटर सडकमा ‘क्लोज ग्रेडिङ प्रिमिक्स’ प्रकृतिको कालोपत्र भइसकेको छ । सडकमा छ मिटर चौडाइको कालोपत्र र एक मिटर चौडाइको नाली निर्माण हुनेछ ।
हालसम्म पाँच हजार ५०० मिटर सडक कालोपत्र भइसकेको छ भने बाँकी चार हजार ५०० मिटर कालोपत्र गर्न बाँकी छ ।
त्यस्तै, घलेगाउँदेखि वडा नं ४ भुजुङसम्मको सात किलोमिटर सडक ग्राभेल गर्नुपर्नेमा दुई किलोमिटर सडकमा ग्राभेल भएको छ । पाँच किलोमिटर ग्राभेल गर्न बाँकी छ ।
आयोजनामा नाली निर्माण, माटो कटिङ, ढलान, कल्भर्ट तथा पर्खाल निर्माणका काम भएका छन् । । करिब चार हजार ९०० घनमिटर नाली निर्माण गर्नुपर्नेमा हालसम्म दुई हजार ७२९ घनमिटर निर्माण भएको छ ।
त्यस्तै, तीन हजार १८७ घनमिटर ढलान गर्नुपर्नेमा २०१ घनमिटर ढलान भएको छ । कल्भर्ट तथा पर्खाल निर्माणका केही काम बाँकी छन् । विभिन्न कारणले निर्माणमा ढिलाइ हुँदै आएको छ ।
पछिल्लो समय म्याद थपसम्बन्धी प्रक्रिया टुङ्गो नलाग्दा काम अघि बढ्न नसकेको अधिकारीले बताउनुभयो । सडक आयोजना पूरा भएपछि क्व्होलासोथार गाउँपालिकाका पर्यटकीय घलेगाउँ र भुजुङ सडक सञ्जालमा सहज रूपमा जोडिनेछ । त्यसबाट स्थानीयवासीको आवागमन तथा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेछ ।
