जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले गाजा पट्टीमा नजिकिदै गरेको वर्षाको मौसमसँगै रोग उत्पन्न हुने चिन्ता व्यक्त गर्दै यसले स्वास्थ्य जोखिम बढाउन सक्ने चेतावनी दिएको छ ।
सङ्गठनले गाजाका अधिकांश मानिसहरू अत्यन्त कठिन परिस्थितिमा बाँचिरहेको उल्लेख गर्दै वर्षाको मौसममा झनै जोखिम बढ्न सक्ने जनाएको हो ।
कब्जा गरिएका प्यालेस्टिनी क्षेत्रहरूका लागि डब्ल्यूएचओका प्रतिनिधि रेन्हिल्डे भ्यान डे वेड्र्टले अझै पनि उनीहरूलाई आवश्यक पर्ने न्यूनतम मात्रामा पानी उपलब्ध गराउन डब्ल्यूएचओ असमर्थ रहेको उल्लेख गर्दै पानीको गुणस्तर र प्रदूषण गाजामा प्रमुख विषय भएको जनाएका छन् ।
उनले यो अवधिमा झाडापखालाको सङ्क्रमणमा उल्लेखनीय वृद्धि भएको जनाउँदै मार्चमा २७ हजार वटा सङ्कमणका घटनाहरु दुई गुणाले बढेर गत अगस्तमा ४८ हजार भन्दा बढी पुगेको बताएका छन् ।
वर्षाको मौसम र जाडो नजिकिँदै जाँदा गाजाको अधिकांश जनसङ्ख्या अत्यन्त भीडभाड भएको शिविर र अस्थायी टहराहरुमा बस्ने गरेको भ्यान डे वेर्डले बताए ।
वर्षाले भीडभाडयुक्त शिविरहरूमा बाढी ल्याउने र बासिन्दाहरू सुत्ने ठाउँहरूमा ढल, फोहोर र दूषित पानी फैलाउने, पानीजन्य रोगहरूको जोखिम बढाउने भविष्यवाणी गर्दै उहाँले आश्रयस्थलमा फोहोर धेरै जम्मा भएको बताएका छन् ।
गाजाको जीर्ण स्वास्थ्य प्रणालीले रोग प्रकोपको सामना गर्न असमर्थ रहेको कुरामा जोड दिँदै भ्यान डे वेड्र्टले आगामी वर्षाको मौसममा गाजा पट्टीमा किरा, लामखुट्टे र ब्याक्टेरियाहरू फैलिने भविष्यवाणी गरेका छन् ।
उनले रोगको नियन्त्रण गर्न द्रुत रूपमा प्रयोगशालाहरूको आवश्यकता पूरा गर्नुका साथै मात्रा र गुणस्तर दुवैको सन्दर्भमा थप स्थायी आश्रय, दिगो पानी आपूर्ति र फोहोर व्यवस्थापन प्रणालीको तत्काल आवश्यकता रहेको विषयमा जोड दिएका छन् ।
इजरायली कब्जाले गाजामा आवश्यक प्रयोगशाला र निदान आपूर्तिको प्रवेशमा प्रतिबन्ध लगाएको छ, जसमा परीक्षणका लागि आवश्यक उपकरणहरु समावेश रहेको अधिकारीहरुले बताएका छन् ।
डब्ल्यूएचओले गाजामा माइक्रोबायोलोजिकल प्रदूषण जनवरी र अगस्टको बीचमा तीन गुणा बढेर छ हजार ७०० भन्दा बढी पुगेको पानीको नमूनाहरूको विश्लेषणले देखाएको छ भने जनवरीमा प्रदूषण ६% बाट बढेर अगस्टमा १८% भन्दा बढी पुगेको छ ।
यसले इजरायली कब्जालाई पट्टीमा व्यापक रूपमा र कुनै बाधाबिना औषधि र आवश्यक आपूर्तिको प्रवेशलाई छिटो गर्न आह्वान गरेको छ ।
