काठमाडौं । नेपाल बौद्ध महासंघले भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको अपूरणीय जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
महासंघले आइतबार एक विज्ञप्ति जारी गर्दै गत भदौ १० गते बिहान रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितको स्मरणमा बौद्ध परम्पराअनुसार विशेष कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ ।
महासंघका अनुसार भदौ १६ गते मंगलबार काठमाडौंको बौद्धस्थित बौद्ध महाचैत्य परिसरमा ‘विशेष मोनलम पाठ, दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम’ आयोजना गरिनेछ ।
कार्यक्रम दिउँसो ३ बजे सुरु हुने जनाएको महासंघले कार्यक्रममा उपस्थितिको लागि सबैमा आग्रह गरेको छ ।

