एसीसी प्रिमियर कप आजबाट शुरु हुँदै, नेपालको उपाधि जित्ने लक्ष्य

काठमाडौं । मलेसियामा आजबाट एसीसी पुरुष प्रिमियर कप शरू हुँदैछ । आजबाट हुने प्रतियोगितामा १० टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

आज हुने पहिलो खेलमा ओमान र सिंगापुर तथा दोस्रो खेलमा हङकङ र साउदी अरेबिया खेल्नेछन् । दुवै खेल बिहान ७:१५ बजे शुरु हुनेछ ।

सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा आयोजक मलेसियासहित नेपाल, बहराइन, हङकङ र साउदी अरेबिया रहेका छन् । समूह ‘बी’मा कुवेत, ओमान, कतार, सिंगापुर र युएई रहेका छन् ।

दुवै समूहको शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको विजेता उपविजेता र तेस्रो हुने टोली आगामी वर्ष हुने एसिया कपमा छनोट हुनेछन् ।

घरेलु मैदानमा भएको पहिलो संस्करणको एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट भएको नेपाल दोस्रो संस्करणमा चौथो भएसँगै एसिया कप खेल्नबाट वन्चित भएको थियो ।

तर यसपटक नेपाल उपाधि जित्दै एसिया कपको लागि छनोट हुने लक्ष्यसाथ मलेसिया पुगेको छ । मलेसिया पुग्नु अघि नेपालले भारतमा कर्नाटाका क्रिकेट टोलीसँग दुई अभ्यास खेल खेलेको थियो । त्यसपछि मलेसियामा घरेलु टोलीविरुद्ध खेलेको दुवै अभ्यास खेलमा जित निकालेको नेपाल उच्च मनोबलमा रहेको छ ।

नेपाली टोली सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रिनेछ । नेपालले सोमबार बहराइनसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । दोस्रो खेल ३ सेप्टेम्बरमा मलेसिया, तेस्रो खेल ६ सेप्टेम्बरमा साउदी अरेबिया र चौथो खेल ८ सेप्टेम्बरमा हङकङसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *