भोटेकोसीमा बहाब बढे पनि ठूलो बाढीको जोखिम छैन : महाशाखा

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले रसुवा जिल्लाको भोटेकोसी नदीमा बाढीको बहाव बढेको जनाएको छ। यद्यपि, हालसम्म रसुवा, नुवाकोट र धादिङका नदी आसपासका क्षेत्रमा ठूलो बाढीको जोखिम नरहेको महाशाखाले जनाएको छ।

आइतबार बिहान ५:४५ बजे जारी गरिएको अद्यावधिक सूचनामा महाशाखाले जिल्ला प्रशासन कार्यालय रसुवा र जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्राप्त जानकारीका आधारमा भोटेकोसी नदीमा पानीको बहाव बढेको उल्लेख गरेको छ।

महाशाखाका अनुसार नदीमा बहाव बढेसँगै नुवाकोट क्षेत्रमा समेत बाढीको अवस्था केही बढेको भए पनि हाल ठूलो बाढीको जोखिम देखिएको छैन।

महाशाखाले जारी गरेको सूचनामा भनिएको छ, “जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्राप्त जानकारीअनुसार भोटेकोसी नदीमा बाढीको बहाव बढेको छ। यसका कारण हाल नुवाकोटमा बाढी केही बढेको भए पनि ठूलो बाढीको अवस्था नरहेको हुँदा यस सूचनालाई आधार मानी हाललाई रसुवा, नुवाकोट र धादिङसम्मका नदी आसपासका क्षेत्रमा ठूलो बाढीको जोखिम नरहेको जानकारी गराइन्छ।”

यद्यपि, नदीमा पानीको बहाव बढिरहेकाले नदी आसपासका क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *