ताल फुटेर भोटेकोसीमा फेरि ठूलो बाढी आउन सक्ने चीनको चेतावनी, सतर्कता अपनाउन आग्रह

काठमाडौं । नेपालको छोचेन खोला र पुरेपु छाङ्पो नदीको संगम नजिकै ठूलो प्राकृतिक बाँधयुक्त ताल बनेको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ ।

चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीका अनुसार बिहीबार बिहानसम्म तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको ग्लोबल टाइम्सले जनाएको छ ।

तालबाट पानी बाहिरिनसमेत थालेको जनाइएको छ। आगामी तीन दिनमा थप ३० लाख घनमिटर पानी तालमा जम्मा हुने अनुमान गरिएको छ। त्यसका कारण ताल फुटेर ठूलो बाढी आउन सक्ने जोखिम उच्च रहेको चीनको जलस्रोत मन्त्रालयले चेतावनी दिएको छ।

मन्त्रालयले तालको अवस्थालाई निरन्तर निगरानी गरिरहेको तथा सम्भावित ताल फुट्दा आउन सक्ने बाढीको प्रभावबारे प्रक्षेपण र विश्लेषण गरिरहेको जनाएको छ। सम्भावित विपद्का लागि आपतकालीन उद्धार कार्यमा सहयोग गर्न आवश्यक तयारीसमेत भइरहेको मन्त्रालयको भनाइ छ।

यसैबीच, नेपाल–चीन सीमाको नेपाली भूभागबाट आएको विनाशकारी पहिरोले चीनको सिजाङ स्वायत्त क्षेत्रस्थित केरुङ बन्दरगाहमा क्षति पुर्याएपछि चिनियाँ अधिकारीहरूले उद्धार तथा राहतका लागि विभिन्न निकाय परिचालन गरेका छन्।

उद्धार कार्यमा चिनियाँ जनमुक्ति सेना, आपतकालीन उद्धार टोली, इन्जिनियरिङ समूह, दूरसञ्चार कम्पनी तथा राहत संस्थाहरू परिचालित छन्। उनीहरूले जनशक्ति, विमान, उपकरण र राहत सामग्री प्रभावित क्षेत्रमा पठाइरहेका छन्।

कठिन भौगोलिक अवस्था, निरन्तर वर्षा र थप प्राकृतिक विपद्को जोखिमबीच उद्धार कार्य जारी रहेको जनाइएको छ। चीनका अनुसार बिहीबार बिहानसम्म घटनामा तीन जनाको मृत्यु पुष्टि भएको, दुई जनाको उद्धार गरिएको र ५५८ जना बेपत्ता रहेका छन्। बेपत्ता हुनेमा २६० जना विदेशी नागरिकसमेत रहेका जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *