काठमाडौं । नेकपा (एमाले)का संसदीय दलका नेता तथा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभाको बैठकमा बौद्ध गोन्पाहरूमा हातहतियार लुकाइएको आशङ्का व्यक्त गरेकोप्रति नेपाल बौद्ध महासंघले गम्भीर आपत्ति जनाएको छ ।
महासंघले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा थापाले गत वर्ष भदौ २३ र २४ गते भएको जेन जी आन्दोलन तथा त्यसक्रममा भएका घटनासँग गोन्पाहरूलाई जोड्दै गोन्पाहरूमा ठूलो मात्रामा शक्ति सङ्ग्रह भइरहेको र आन्दोलनका क्रममा लुटिएका हातहतियार त्यहाँ लुकाइएको आशङ्का रहेको अभिव्यक्ति दिएको उल्लेख गरेको छ ।
महासंघका अध्यक्ष नुर्बु थुन्डु शेर्पाद्वारा जारी विज्ञप्तिमा उक्त अभिव्यक्तिलाई ‘तथ्यहीन, भ्रामक र गैरजिम्मेवार’ भन्दै घोर भत्र्सना गरिएकाे छ । प्राचीनकालदेखि बौद्ध गोन्पाहरू अहिंसा, करुणा, शान्ति र परोपकारका बौद्ध शिक्षाको अध्ययन, अध्यापन तथा अभ्यास गर्ने पवित्र आध्यात्मिक केन्द्रका रूपमा स्थापित रहेको महासंघको भनाइ छ ।
शान्ति, सहिष्णुता र राष्ट्रिय एकताको संवर्द्धनमा योगदान पुर्याउँदै आएका धार्मिक केन्द्रहरूलाई देशको शान्ति, सुरक्षा र अखण्डताका लागि खतरा उत्पन्न गर्ने स्थानका रूपमा चित्रण गर्नु पूर्णतः भ्रामक भएको महासंघले जनाएको छ ।
महासंघले संसद्को गरिमामय स्थानबाट राजनीतिक स्वार्थ वा जानकारीको अभावमा दिइने यस्ता अभिव्यक्तिले बौद्ध समुदायको मानमर्दन गर्नुका साथै नेपालको बहुधार्मिक तथा बहुसांस्कृतिक समाजमा धार्मिक द्वन्द्व, भ्रम र सामाजिक सद्भाव खल्बलिने जोखिम बढाउने चेतावनी दिएको छ ।
एक जिम्मेवार राजनीतिक दलका नेताबाट आएको अभिव्यक्तिलाई सिङ्गो दलको आधिकारिक धारणा मान्न सकिने भन्दै महासंघले नेकपा (एमाले)लाई तत्काल यस विषयमा छानबिन गरी आफ्नो स्पष्ट धारणा सार्वजनिक गर्न माग गरेको छ ।
त्यस्तै, समाजमा द्वेष र भ्रम फैलाउने किसिमका अभिव्यक्ति प्रतिनिधिसभाको रेकर्डबाट हटाउन सभामुखसमक्ष आग्रह गरिएको छ । महासंघले थापालाई कुन–कुन गोन्पामा हातहतियार लुकाइएको हो, त्यसको आधिकारिक प्रमाण र सम्बन्धित गोन्पाको नाम सार्वजनिक गर्नसमेत चुनौती दिएको छ ।
प्रमाणबिना यस्ता अभिव्यक्ति दिइएको हो भने त्यसबाट उत्पन्न हुन सक्ने धार्मिक तथा सामाजिक द्वन्द्वको जिम्मेवारी सम्बन्धित व्यक्ति र दलले लिनुपर्ने महासंघले जनाएको छ ।
महासंघले यस विषयमा यथाशीघ्र सत्यतथ्य छानबिन गरी दोषी ठहरिएमा कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ । माग सम्बोधन नभए नेपाल बौद्ध महासंघसहित बौद्ध संघसंस्थाहरूको नेतृत्वमा थप सशक्त विरोधका कार्यक्रम अघि बढाउन बाध्य हुने चेतावनीसमेत दिइएको छ ।

