काठमाडौँ । सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा बमबहादुर मिश्र र निलम ढुंगाना तिमल्सिनालाई नियुक्त गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले मिश्र र तिमल्सिनालाई डेपुटी गभर्नरमा नियुक्त गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए ।
फागुन १८ गतेदेखि डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठको पाँच वर्षे कार्यकाल सकिएपछि रिक्त पदमा सरकारले मिश्र र तिमल्सिनालाई नियुक्त गरेको हो ।
गभर्नरको सिफारिसमा नेपाल सरकार मन्त्रिपरिषद्ले डेपुटी गभर्नर नियुक्त गर्नुपर्ने व्यवस्था राष्ट्र बैंक ऐनमा छ । यस्तै, बैठकले निजामती अस्पतालको कार्यकारी निर्देशकमा प्रा.डा. विद्यानिधी पौडेललाई नियुक्त गरेको छ ।
