अमरेश सिंहको प्रश्न : सरोकारवालाविनै भारत–नेपाल संवाद किन ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश सिंहले ‘इन्डिया–नेपाल डाइलग’ कार्यक्रममा प्रत्यक्ष सरोकार राख्ने क्षेत्रका जनप्रतिनिधि, बुद्धिजीवी तथा व्यापारीलाई सहभागी नगराइएको भन्दै प्रश्न उठाएका छन् ।

सामाजिक संजालमार्फत सिंहले भारत–नेपाल सम्बन्धका मुख्य विषय व्यापार, सीमा तथा रोटी–बेटीको सम्बन्ध भएपनि ती विषयसँग प्रत्यक्ष जोडिएका मधेश, बिहार र उत्तर प्रदेशका सरोकारवालालाई कार्यक्रममा नबोलाइएको बताएका हुन् । भारतसँगको सम्बन्धका विषयमा छलफल गरिँदा प्रत्यक्ष सरोकार राख्ने पक्षलाई नै सहभागी नगराएपछि संवादको औचित्यमाथि प्रश्न उठाउँदै सिंहले भनेका छन्, ‘प्रश्न उठ्छ, छलफल चाहिँ केका लागि?’

भारतीय टेलिभिजन च्यानल एनडीटीभी वर्ल्डले अगस्ट २७(भदौ ११) मा काठमाडौंमा ‘एनडीटीभी अन्विक्षाः सीमापार विचार’ विषयक संवाद शृंखलाको सुरुवात गदैछ । नेपाल र भारतका राजनीतिक नेता, नीति निर्माता, कूटनीतिज्ञ, व्यवसायी, रणनीतिक मामिलाका विज्ञ तथा कला र खेलकुद क्षेत्रका व्यक्तित्वको सहभागितामा पहिलो भारत–नेपाल संवाद आयोजना हुन लागेको हो।

संवादमा नेपालको बदलिँदो राजनीतिक, आर्थिक तथा सामाजिक अवस्था, भारतसँगको सम्बन्ध र क्षेत्रीय भूमिकाबारे छलफल हुने जनाइएको छ। नेपालको आर्थिक सम्भावना, उद्यमशीलता, लोकतान्त्रिक विकास, युवाका आकांक्षा, प्रविधि, पर्यटन, पूर्वाधार, दिगोपन, व्यापार तथा क्षेत्रीय सहकार्य पनि छलफलका विषय रहनेछन्।

कार्यक्रममा नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, नेपाली कांग्रेसका सभापति गगन थापा तथा अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन संसदीय समितिकी सभापति सुम्निमा उदास सहभागी हुनेछन्। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि कार्यक्रममा सहभागी हुनेछन्।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, भारतीय कांग्रेसका नेता तथा पूर्वकूटनीतिज्ञ डा. शशि थरुर, इन्डिया फाउन्डेसनका अध्यक्ष डा. राम माधव, भाजपा राष्ट्रिय कार्यकारिणी सदस्य डा. विनय सहस्रबुद्धे र भाजपा विदेश मामिला प्रमुख डा. विजय चौथाइवाले पनि सहभागी हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *