काठमाडौं । नेकपा माओवादी केन्द्रले संसद, सरकार, राजनीतिक प्रक्रिया र संविधान कार्यान्वयनको प्रक्रिया अगाडि बढाउने सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग छलफल गर्ने भएको छ ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले वर्तमान राजनीतिक परिस्थितिका बारेमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जसपासँग छलफल र वार्ता गर्ने निर्णय गरेको हो । त्यसपपछि आवश्यकताको आधारमा नेकपा एमालेसँग पनि वार्ताको प्रक्रिया अघि बढाउन सकिने निर्णय बैठकले गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
त्यसैगरी बैठकले संगठनात्मक कामका सम्बन्धमा अहिलेको परिस्थितिको बारेमा पार्टीलाई प्रशिक्षित गर्न फागुन २९ गते केन्द्रीय कमिटीको बैठक र चैत १ गते कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ ।
माओवादी केन्द्रले यसअघि निर्वाचन आयोगमा बुझाएका केन्द्रीय सदस्यहरुको बैठक बस्ने पनि नेता श्रेष्ठले जानकारी दिए । उनका अनुसार सबै पार्टीसंग छलफल गरेपछि राजनीतिक परिस्थितिको गम्भीर समीक्षा गरेर मात्रै सरकारलाई दिएको समर्थनका बारेमा पार्टीले निर्णय गर्नेछ ।
बैठकले सरकार गठन र सरकारमा रहेका सांसदहहरुको सवालमा भने ठोस निर्णय गरेको छैन । सरकारमा रहेका सांसदहरुले पहिला आफ्नो दृष्टिकोण र भूमिकाका बारेमा स्पष्ट पारेपछि मात्रै बैठकले निर्णय गर्ने नेता श्रेष्ठले जानकारी दिए । उनले अदालतको फैसलापछि एकीकृत पार्टीका तर्फबाट गर्न सक्ने काम गर्न नसकेर क्षति पुगेको भएपनि संगठनमा त्यसले असर नपर्ने प्रतिक्रिया दिए ।
