सरकारको कर नीतिविरुद्ध उज्यालो नेपाल पार्टीले देशव्यापी अभियान चलाउने

मन्थली । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सर्वसाधारण नागरिकको ढाड सेक्ने गरी सरकारले लगाएको करका विरुद्ध देशभरि अभियान सञ्चालन गर्ने बताएका छन् ।

आइतबार मन्थलीमा आयोजित हस्ताक्षर सङ्कलन अभियान तथा पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष घिसिङले सरकारको यस्तो कार्यको विरुद्ध देशभर स्थानीय तहसम्म हस्ताक्षर अभियान सञ्चालन गरिने बताए । एक महिनासम्म हस्ताक्षर सङ्कलन गरेर सरकारलाई बुझाउने योजना रहेको घिसिङले सुनाए ।

‘उज्यालो नेपाल पार्टीले जनदबाब सिर्जना गर्न भदौ १ गतेबाट देशव्यापी रूपमा जनताको हस्ताक्षर सङ्कलन अभियान सुरु गरेका छौँ’, उनले भने ।

सरकारले विद्युतमा भ्याट लगाउने, राइड सेयरिङमा कर लगाउने जस्ता काम गरेर सर्वसाधारण नागरिकलाई मारमा पारेको उनले बताए । विद्युत् महसुल घटाएर विद्युतको प्रयोग गर्न नागरिकलाई उत्प्रेरित गर्नुपर्ने बेलामा उल्टै कर लगाएर निरुत्साहित गरेको उनको धारणा छ । सकारले ल्याएको यो नीति गलत भएको उनले बताए ।

उठाउनु पर्ने बक्यौता रकम नउठाउने, उचित व्यवस्थापन गर्न नसकेर प्राधिकरणको नाफा घट्दै जाने तर सर्वसाधारण नागरिकलाई भार थोपर्ने काम अस्वीकार्य भएको उनले बताए । नागरिकलाई अतिआवश्यक खाने पानी, सिँचाई जस्ता कर लगाएर सरकारले जनविरोधी काम गरेको घिसिङले बताए ।

विद्युत् खपत बढाएर देशलाई आत्मनिर्भर बनाउने विद्युत् महसुलमा छुट दिनु पर्ने उनले बताए । यसले ग्यास र तेललाई विस्थापित गर्ने र देशको अर्थतन्त्र सुधारमा सहयोग पुग्ने उनको धारणा छ । सरकारले आफूहरूको माग सुनुवाइ गर्नुपर्ने भन्दै उनले यो सुनेन भने यो सरकारलाई दुईतिहाइको सरकार भन्न नमिल्ने बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *