काठमाडौं । हरि लम्साल निर्देशित चलचित्र ‘बाः एक योद्धा’को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण पक्षले काठमाडौंमा कार्यक्रम आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो ।
ट्रेलरको केन्द्रमा बुवाको संघर्ष छ । बुवाले सन्तानका लागि गरेको संघर्ष र त्यागको सेरोफेरोमा ट्रेलर घुमेको छ । आफ्नो सन्तानको सुख र खुसीका लागि बुवा जस्तो सुकै त्याग, संघर्ष र बलिदानी दिन तयार हुन्छ भन्ने ट्रेलरले सन्देश दिएको छ ।
आफ्नो सन्तानको खुसीका लागि आफू बसेको घर पनि बेच्न तयार बाबुलाई सन्तानले दिएको दुःख र त्यसको परिणाम ट्रेलरमा देखिन्छ । चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा छन् ।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्र ‘बाः एक योद्धा’ कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेको हो ।
