राष्ट्रसङ्घ महासचिवको दौडमा दोस्रो स्ट्र पोल

राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घको नयाँ महासचिव चयनका लागि सुरक्षा परिषद्ले शुक्रबार दोस्रो अनौपचारिक मतदान (स्ट्र पोल) गरेको छ ।

महासचिव एन्टोनियो गुटेरेसको दोस्रो पाँचवर्षे कार्यकाल डिसेम्बर ३१ मा सकिँदैछ । त्यसअघि उनको उत्तराधिकारी बन्न आकांक्षी उम्मेदवारमध्ये कसको समर्थन बलियो बन्दै गएको छ भन्ने आकलन गर्न मतदान गरिएको हो ।

पहिलो स्ट्र पोलमा कोस्टा रिकाकी रेबेका ग्रिन्स्पान अग्रस्थानमा रहेका थिए । परिषद्का १५ सदस्यले उम्मेदवारबारे गोप्य रूपमा धारणा व्यक्त गरेका थिए । प्रतिस्पर्धामा अर्जेन्टिनाका राफेल ग्रोसी, चिलीकी पूर्वराष्ट्रपति मिशेल ब्याचेलेट, इक्वेडरकी मारिया फर्नान्डा एस्पिनोसा, गुयानाकी क्यारोलिन रोड्रिग्स–बर्केट, युगान्डाका ओलारा ओटुन्नु र सेनेगलका म्याकी साल रहेका छन् । पहिलो मतदानपछि इक्वेडरकी इभोन ए–बकीले पनि उम्मेदवारी घोषणा गरेका छन् ।

इन्टरनेसनल क्राइसिस ग्रुपका डेनियल फोर्टीले दोस्रो स्ट्र पोलले प्रतिस्पर्धा कुन दिशामा अघि बढिरहेको छ भन्ने सङ्केत दिने बताए । उनका अनुसार पहिलो मतदानका तुलनामा मत वितरणमा परिवर्तन आउन सक्ने भए पनि कुनै उम्मेदवारले निर्णायक अग्रता हासिल गर्ने सम्भावना कम छ ।

भिटो अधिकार भएका बेलायत, चीन, फ्रान्स, रुस र अमेरिकाले आफ्नो प्राथमिकता तत्काल स्पष्ट नगर्न सक्ने उनको भनाइ छ । रुसी राजदूत भासिली नेबेन्जियाले पनि कुनै उम्मेदवारले पर्याप्त समर्थन जुटाउन नसके नयाँ उम्मेदवार थपिन सक्ने सम्भावना अस्वीकार गरेका छैनन् ।

सुरक्षा परिषदमा उम्मेदवारले १५ मध्ये कम्तीमा ९ मत पाए पनि पाँच स्थायी सदस्यमध्ये कुनैको भिटोबाट जोगिनुपर्छ । परिषद्को सिफारिसपछि मात्र उम्मेदवारको नाम अनुमोदनका लागि महासभामा पठाइन्छ ।

स्ट्र पोलको अभ्यास सन् १९८० को दशकको सुरुतिर भिटोका कारण उत्पन्न उम्मेदवार बिचको गतिरोध तोड्ने प्रयासस्वरूप सुरु गरिएको थियो । प्रत्येक सदस्यले उम्मेदवारलाई ‘प्रोत्साहित गर्नुहोस्’, ‘निरुत्साहित गर्नुहोस’ वा ‘कुनै राय छैन’ मध्ये एक धारणा गोप्य रूपमा व्यक्त गर्छन् । यसबाट कमजोर समर्थन भएका उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिने सङ्केत मिल्छ ।

महासचिव पद क्षेत्रीय सन्तुलनको परम्पराअनुसार विभिन्न क्षेत्रबीच घुमाइन्छ । त्यस आधारमा यसपटक ल्याटिन अमेरिकाबाट उम्मेदवार चयन हुने अपेक्षा गरिएको छ । हालको प्रतिस्पर्धामा सो क्षेत्रका धेरै उम्मेदवार छन् । म्याकी साल र ओलारा ओटुन्नु भने अफ्रिकाबाट उम्मेदवार रहेका छन् । नयाँ महासचिवको अन्तिम चयन सुरक्षा परिषद्को सिफारिसमा महासभाले गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *