बीबीसी । इजरायलले कब्जामा रहेको वेस्ट बैंकको रणनीतिक क्षेत्रमा करिब १ हजार २०० आवासीय भवन निर्माणका लागि बोलपत्र आह्वान गर्ने तयारी गरेपछि बेलायत, फ्रान्स, जर्मनी, इटाली र क्यानडाले त्यसको विरोध गरेका छन्।
पाँच देशले संयुक्त वक्तव्य जारी गरी इजरायलको योजना ‘अस्वीकार्य’ भएको बताएका छन्। उनीहरूले योजना तत्काल फिर्ता लिन इजरायललाई आग्रह गरेका छन्।
अन्तर्राष्ट्रिय कानुनअनुसार इजरायली बस्तीहरू अवैध मानिन्छन्। पूर्वी यरुशलम नजिकको ई–१ क्षेत्रमा बस्ती विस्तार गर्ने योजनालाई अन्तर्राष्ट्रिय दबाबका कारण इजरायलले दशकौँदेखि अघि बढाउन सकेको थिएन।
प्यालेस्टिनी पक्ष र इजरायलका केही सहयोगी राष्ट्रहरूले ई–१ क्षेत्रमा बस्ती विस्तार भए दुई–राज्य समाधानको सम्भावनामा गम्भीर असर पर्ने चेतावनी दिएका छन्। यसले वेस्ट बैंकलाई दुई भागमा विभाजन गर्नुका साथै पूर्वी यरुशलमलाई समेत अलग पार्ने उनीहरूको भनाइ छ।
संयुक्त वक्तव्यमा वेस्ट बैंकमा बस्तीका बासिन्दाबाट प्यालेस्टिनी नागरिकमाथि हिंसा बढेको र प्यालेस्टिनी अर्थतन्त्रमा गम्भीर प्रतिबन्ध लगाइएको अवस्थामा बस्ती विस्तारको निर्णय थप चिन्ताजनक भएको उल्लेख गरिएको छ।
“यी योजनाले शान्तिको सम्भावनाबाट थप टाढा लैजानुका साथै अन्तर्राष्ट्रिय समुदायमा इजरायलको प्रतिष्ठालाई थप कमजोर बनाउनेछन्,” वक्तव्यमा भनिएको छ।
संयुक्त राष्ट्रसंघका महासचिवले पनि ई–१ योजना एकीकृत प्यालेस्टिनी राज्यका लागि ‘अस्तित्वगत खतरा’ भएको बताएका छन्। बेल्जियमका विदेशमन्त्रीले पनि योजनाको विरोध गरेका छन्।
इजरायली आवास मन्त्रालयले बुधबार ३ हजार ४०१ स्वीकृत आवासीय एकाइमध्ये १ हजार २३४ एकाइ निर्माणका लागि बोलपत्र आह्वान गरेको थियो। योजना पूर्वी यरुशलम र माले अदुमिम बस्तीबीचको करिब १२ वर्ग किलोमिटर क्षेत्रमा लागू हुनेछ।
बोलपत्रको अन्तिम मिति अक्टोबर १९ तोकिएको छ, जुन अक्टोबर २७ मा हुने इजरायली आमनिर्वाचनभन्दा केही दिनअघि पर्छ। यसले आगामी सरकारले स्वीकृत बोलपत्र उल्टाउन कठिन हुने विश्लेषण गरिएको छ।
इजरायलले सन् १९६७ को मध्यपूर्व युद्धपछि वेस्ट बैंक र पूर्वी यरुशलममा करिब १६० वटा बस्ती निर्माण गरेको छ। ती बस्तीमा करिब ७ लाख यहुदी बसोबास गर्छन्। वेस्ट बैंकमा करिब ३३ लाख प्यालेस्टिनी बसोबास गर्छन्।
प्रधानमन्त्री बेन्जामिन नेतन्याहु सन् २०२२ को अन्त्यमा दक्षिणपन्थी तथा बस्ती समर्थक गठबन्धनको नेतृत्व गर्दै पुनः सत्तामा आएपछि बस्ती विस्तार तीव्र बनेको बताइएको छ।
ई–१ परियोजनाका विरोधीहरूले यसले वेस्ट बैंकको उत्तरी र दक्षिणी भागलाई अलग पारेर रामल्लाह, पूर्वी यरुशलम र बेथलेहेम जोड्ने निरन्तर प्यालेस्टिनी भूभाग निर्माणमा बाधा पुर्याउने तथा भविष्यमा प्यालेस्टिनी राज्य स्थापना गर्ने सम्भावनालाई कमजोर बनाउने चेतावनी दिएका छन्।
