‘व्यक्ति होइन-विधि जिताऔँ, पद होइन-न्याय रोजौँ, डर होइन-सत्यको साथ दिऔँ’

काठमाडौं । श्रम संस्कृति पार्टीका केन्द्रीय कार्यसमिति सदस्य राजेश खिम्दुङले आफूलाई पर्याप्त सुनुवाइको अवसर नदिई निलम्बन गरिएको भन्दै असन्तुष्टि जनाएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै खिम्दुङले आफूलाई षड्यन्त्रपूर्वक फसाउने प्रयास भइरहेको महसुस भए पनि पार्टीले सत्य, तथ्य र प्रमाणका आधारमा निर्णय गर्ने विश्वास रहेको बताएका छन्।

उनले पार्टीले आफूलाई आफ्नो पक्ष राख्ने पर्याप्त अवसर दिने र निष्पक्ष सुनुवाइ गर्ने अपेक्षा गरेको उल्लेख गरेका छन्। तर पार्टी अध्यक्षले फेसबुकमार्फत आफू निलम्बित भएको घोषणा गरेको उनको भनाइ छ।

लोकतान्त्रिक संगठनमा कसैमाथि आरोप लाग्दैमा त्यो अन्तिम सत्य नहुने भन्दै खिम्दुङले आरोपको निष्पक्ष छानबिन हुनुपर्ने, आरोपितलाई प्रतिरक्षाको अवसर दिनुपर्ने र प्रमाणका आधारमा निर्णय हुनुपर्ने बताएका छन्।

आफ्नो धारणा कुनै पद वा प्रतिष्ठाका लागि नभई विधि, विधान, न्याय र लोकतान्त्रिक संस्कारको पक्षमा रहेको उनले स्पष्ट पारेका छन्। ‘आज ममाथि अन्याय भयो भने भोलि यही अन्याय अरू कुनै श्रमदातामाथि पनि हुन सक्छ,’ उनले भनेका छन्।

उनले पार्टीका सदस्यहरूलाई व्यक्तिको पक्ष वा विपक्षमा नभई विधिको पक्षमा उभिन तथा सुनेकै भरमा कसैलाई दोषी नठह¥याउन आग्रह गरेका छन्।

पार्टीलाई व्यक्ति केन्द्रित नभई विधि र विधान केन्द्रित बनाउनुपर्ने उनको भनाइ छ। नेतृत्वप्रति प्रश्न उठाउनु विद्रोह नभएको र विधि तथा न्यायको माग गर्नु पार्टीविरोधी गतिविधि नभएको उनले बताएका छन्।

खिम्दुङले आफू सत्य, लोकतन्त्र तथा श्रमदाताहरूको सम्मान र अधिकारको पक्षमा रहेको बताउँदै श्रम संस्कृति पार्टीलाई नेपालको सबैभन्दा ठूलो पार्टी बनाउन सबै मिलेर अघि बढ्नुपर्ने धारणा राखेका छन्। उनले भनेका छन्, ‘व्यक्ति होइन—विधि जिताऔँ, पद होइन—न्याय रोजौँ, डर होइन—सत्यको साथ दिऔँ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *