न्याय नपाएको गुनासो गर्दै पुनः विदेश फर्किए धुर्सुस

काठमाडौँ । कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल धुर्मुसले आफ्नै देशमा न्याय खोज्दा राज्यबाट आफ्नो आवाज नसुनिएको गुनासो गरेका छन् । दुई महिनासम्म राज्यका विभिन्न निकायमा पुगेर समस्या समाधानका लागि प्रयास गरे पनि सफल हुन नसकेको भन्दै आफू पुनः मातृभूमिबाट बाहिरिन बाध्य भएको उनले बताएका छन्।

कट्टेलले सामाजिक सञ्जालमार्फत भावुक वक्तव्य सार्वजनिक गर्दै छोरीसहित नेपाल फर्किँदा समस्या समाधान हुने र आफ्नै माटोमा दुःख–सुख साट्दै फेरि नेपालीलाई हँसाउने सपना बोकेको उल्लेख गरेका छन्।

‘दुई महिना अथक प्रयास गरेँ। राज्यका ढोका–ढोका पुगेँ। न्यायको आशामा राज्यलाई गुहारेँ,’ उनले भनेका छन्, ‘तर न राज्यले मेरो आवाज सुन्यो, न त आफ्नो पीडा मन खोलेर सुनाउने अवसर नै पाएँ।’

समस्या समाधान हुनुको साटो भरतपुर महानगरपालिकाबाट विनियोजित १५ करोड रुपैयाँसमेत फ्रिज हुने अवस्था आएको उनले उल्लेख गरेका छन्। आफू १८ करोड ४३ लाख रुपैयाँको आर्थिक भार, अधुरा सपना र मनभरिको पीडा बोकेर पुनः नेपालबाट बाहिरिन बाध्य भएको उनको भनाइ छ।

कट्टेलले आफ्नै देशमा न्याय खोज्दा आफ्नो आवाज बेवारिसे भएको अनुभूति भएको बताएका छन्। देशमा इमानदारीपूर्वक केही गरौँ र आफ्नै माटोलाई केही दिऔँ भन्ने सपना देख्नेहरूको नियति यस्तै हुने हो कि भन्ने प्रश्नसमेत उनले गरेका छन्।

समाज र राष्ट्रका लागि आफूले १० वर्षको उर्वर समय समर्पण गरेको उल्लेख गर्दै उनले राज्यबाट पाएको प्रोत्साहनप्रति समेत असन्तुष्टि व्यक्त गरेका छन्।

यद्यपि, आफूभित्र आशा अझै बाँकी रहेको उनले बताएका छन्। कुनै दिन राज्यले आफूहरूको पीडा सम्झिने, समयले सत्य बोल्ने र संघर्षको मूल्य बुझिने विश्वास व्यक्त गर्दै कट्टेलले भविष्यमा फेरि नेपालीमाझ फर्किने आशा व्यक्त गरेका छन्। ‘चाँडै फेरि हजुरहरूसँग भेट हुनेछ भन्ने आशामा,’ उनले लेखेका छन्, ‘मुटुभरिको माया र सम्मान हजुरहरू सबैलाई।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *