यूएईले इरानमाथि लगायो अनिश्चितकालीन व्यापार प्रतिबन्ध

यूएई। संयुक्त अरब इमिरेट्स (यूएई)ले इरानमाथि अनिश्चितकालका लागि व्यापार प्रतिबन्ध लगाएको छ । दुई वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको आरोप लगाउँदै यो कदम चालिएको हो।

बुधबार  विज्ञप्ति जारी गर्दै युएईको विदेश मन्त्रालयले क्षेत्रमा शान्ति र सुरक्षालाई कमजोर पार्ने बढ्दो तनावलाई ध्यानमा राख्दै यो निर्णय गरिएको बताएको छ । ‘अर्को सूचना नभएसम्म इरानसँगको सबै व्यापार, व्यावसायिक आदानप्रदान र वित्तीय लेनदेनहरू रोकिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

युएईको रक्षा मन्त्रालयले आफ्नो हवाई प्रतिरक्षाले इरानबाट प्रहार गरिएका दुई ब्यालिस्टिक क्षेप्यास्त्रहरू पत्ता लगाएको बताएपछि यस्ताे विज्ञप्ति आएकाे हाे।

यी दुई क्षेप्यास्त्रमध्ये एउटा देशको क्षेत्रीय जलसीमाभन्दा बाहिर खसेको र अर्को जलसीमाभित्र खसेको भनिएको छ । एक फलो–अप विज्ञप्तिमा क्षेप्यास्त्रहरूले समुद्री यातायातलाई लक्षित गरिरहेको मन्त्रालयले बताएको छ । राष्ट्रको सुरक्षा वा यस क्षेत्रमा समुद्री नेभिगेसनलाई कमजोर पार्ने कुनै पनि प्रयासको दृढतापूर्वक सामना गर्ने वाचा पनि यसमा गरिएको छ ।

इरानको विदेश मन्त्रालयले आरोपलाई निराधार भन्दै अस्वीकार गरेको छ । मन्त्रालयका प्रवक्ता इस्माइल बागाईले अमेरिका र इजरायलले आफ्नो देश विरुद्ध सुरु गरेको युद्धकोबिचमा यसलाई ‘फाल्स फ्ल्याग अपरेसन’ अर्थात् वास्तविक आक्रमणकारीलाई लुकाएर अर्को पक्षलाई दोष दिने षड्यन्त्र भएको हुन सक्ने बताएका छन् ।

यूएईको आरोप असल छिमेकी सम्बन्धको सिद्धान्त विपरीत रहेको उनले बताए । क्षेत्रीय देशहरूलाई तेहरानविरुद्ध आधारहीन आरोप लगाउने गतिविधिबाट टाढा रहन आग्रह गर्दै घटनाको निष्पक्ष मूल्याङ्कन गर्दा अमेरिका र इजरायलका ‘दुर्भावनापूर्ण गतिविधि’लाई पनि ध्यानमा राख्नुपर्ने उनले बताए ।

यूएईको यो निर्णय अमेरिका र इरानबिचको शान्ति वार्ताका लागि तोकिएको ६० दिने समयसीमा कुनै ठोस सहमतिबिना सकिएको भोलिपल्ट आएको हो । पाँच महिनाभन्दा लामो समयदेखि जारी द्वन्द्वका क्रममा अमेरिकाले इरानी बन्दरगाहमा नौसैनिक नाकाबन्दी कायम राखेको छ ।

युद्धको पहिलो छ हप्तामा इरानले अन्य खाडी मुलुकको तुलनामा यूएईलाई बढी लक्षित गरेको थियो । इरानले अमेरिकी सैन्य सम्पत्ति लक्षित गरेको भन्दै ५३० भन्दा बढी ब्यालिस्टिक क्षेप्यास्त्र, दर्जनौँ क्रुज क्षेप्यास्त्र र २हजार २०० भन्दा बढी ड्रोन प्रहार गरेको बताइएको छ ।

मंगलबारको घटना भने मेयता यूएईलाई लक्षित गरिएको पहिलो क्षेप्यास्त्र आक्रमण भएको दाबी गरिएको छ । यसअघि यूएईले स्ट्रेट अफ हर्मुजमा आफ्ना सरकारी स्वामित्वका एडीएनओसीका दुई वटा पानीजहाजमाथि इरानले आक्रमण गरेको आरोप लगाएको थियो ।

इरानले भने ती आक्रमणको जिम्मेवारी लिएको छैन । यूएईको व्यापार प्रतिबन्धले इरानको अर्थतन्त्रमा ठुलो असर पार्न सक्ने विश्लेषकहरूको भनाइ छ ।

दुबई लामो समयदेखि इरानका लागि महत्त्वपूर्ण व्यापारिक तथा वित्तीय केन्द्रका रूपमा रहेको छ । अमेरिकी पूर्वसहायक विदेशमन्त्री तथा अवकाशप्राप्त अमेरिकी जनरल मार्क किमिटका अनुसार दुबईमार्फत इरानले आफ्नो कुल आयातको करिब एक तिहाइ हिस्सा प्राप्त गर्दै आएको छ ।

दुबईको विश्वको प्रमुख वित्तीय केन्द्र हो । यसले इरानलाई अन्तर्राष्ट्रिय प्रतिबन्धकाबिच रकम स्थानान्तरण गर्नसमेत सहज बनाउँदै आएको बताइएको छ । त्यसैले यूएईको प्रतिबन्धले अमेरिकाले लगाएको प्रतिबन्धभन्दा पनि इरानमा ठुलो प्रभाव पार्न सक्ने किमिटको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *