रास्वपाभित्र कुनै धार छैनः रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन साहसँग सम्बन्ध बिग्रिएको चर्चालाई खारेज गरेका छन् ।

बुधबार पार्टीको संसदीय दलको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सभापति लामिछानेले आफूहरुबीच कुनै दरार नभएको बताएका हुन् । उनले पार्टीमा कुनै धार नभएको बताए ।

उनले भने,‘हामीमा कुनै समस्या छैन । जनताको म्यान्डेटमा स्पष्ट छौँ । हाम्रो पार्टीमा कुनै धार छैन । धार छ भन्ने कुरालाई खारेज गर्दिनुस् ।’

उनले आफूहरुले राजनीतिक सुझबुझका साथ काम गरिरहेको बताए । उनले भने,‘दुईजनाबीच झगडा पर्यो भनेर लेख्नुहुन्छ हामीलाई रमाइलो लाग्छ । तपाईंहरूको समाचारले हामीलाई अझ नजिक ल्याइरहेको छ । त्यसैले समाचार लेख्न नरोक्नुहोला, प्रधानमन्त्रीज्यू कवि र कलाकार पनि हो । यत्रो भिडमा पनि म एक्लो महसुस गर्न सक्दिनँ र हरेक शब्दको राजनीतिक अर्थ खोज्न हुँदैन ।’

उनले पार्टीभित्रका सांसदहरूको अभिव्यक्तिका कारण कहिलेकाहीँ विवाद उत्पन्न भएपनि त्यसलाई सम्हालेर पार्टी अघि बढ्ने बताए । सभापति लामिछानेले आजको छलफललाई संसदीय दलको बैठक नभई संसदमा पार्टीको प्रस्तुतिलगायत विषयमा गरिएको आन्तरिक छलफल भएको बताए ।

सभापति लामिछानेले संसदमा रास्वपाका सांसदहरू कसरी प्रस्तुत भइरहेका छन् भन्ने विषयमा पार्टीभित्र छलफल गरिएको बताए । संसदमा प्रस्तुत हुने विषय र त्यसको प्रस्तुतीकरणबारे आम नागरिकस्तरबाट समेत प्रश्न उठिरहेकाले पार्टीभित्र समीक्षा आवश्यक भएको उनको भनाइ थियो ।

‘संसदको मर्यादा कायम गर्ने जिम्मेवारी हाम्रो रहन्छ । त्यसअर्थमा संसदमा मर्यादित ढंगले प्रस्तुत हुने, संसदमा उठ्ने विषयवस्तुहरू आम नागरिकको जीवनसँग जोडिएका विषय हुनेलगायत सबै कुरामा एकैपटक छलफल गरेर बेटर अन्डरस्ट्यान्डिङका साथ अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्यौं ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *