युक्रेनका पूर्वरक्षामन्त्रीद्वारा राष्ट्रपतीय निर्वाचनको माग

बीबीसी । बर्खास्त गरिएका युक्रेनका पूर्वरक्षामन्त्री मिखाइलो फेडोरोभले युद्धकै बीचमा राष्ट्रपतीय निर्वाचन गराउन माग गरेका छन् । उनको यो मागलाई रुसले पूर्णस्तरको आक्रमण सुरु गरेको साढे चार वर्षयता राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको नेतृत्वमाथिको सबैभन्दा ठूलो चुनौतीका रूपमा हेरिएको छ ।

उनले युट्युबमार्फत सार्वजनिक गरेको भिडियोमा भनेका छन्, ‘लोकतन्त्रलाई रुसको बन्धक बनाउन सकिँदैन ।’ उनले युक्रेनले “स्वतन्त्र युरोपेली राष्ट्रका रूपमा रहन चाहेकै कारण” युद्ध लडिरहेको बताएका छन् ।

सन् २०२२ मा युद्ध सुरु भएदेखि युक्रेनमा सैनिक शासन लागू छ । त्यसका कारण निर्वाचन स्थगित गरिएको छ । फेडोरोभले भिडियोमा राष्ट्रपति जेलेन्स्कीको नाम उल्लेख गरेका छैनन् । उनलाई गत महिना रक्षामन्त्री पदबाट अप्रत्याशित रूपमा हटाइएको थियो । रक्षामन्त्री नियुक्त भएको छ महिनामात्र पुगेका बेला उनलाई पदबाट हटाइएको हो ।
फेडोरोभको भिडियोप्रति जेलेन्स्कीले अहिलेसम्म प्रतिक्रिया दिएका छैनन् । उनलाई पदबाट हटाइएपछि युक्रेनभर विरोध प्रदर्शनसमेत भएका थिए ।

अत्यधिक लोकप्रिय रक्षामन्त्रीका रूपमा कार्यकाल बिताएका फेडोरोभले मन्त्रालयलाई सक्रिय बनाउन, भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्न तथा तथ्यांकको विश्लेषणमार्फत अग्रपंक्तिमा सेनाको कार्यसम्पादन सुधार्ने प्रयास गरेको श्रेय पाएका थिए ।

उनलाई पदबाट हटाइनु सेना प्रमुख ओलेक्सान्दर सिस्र्कीसँगको तनावसँग सम्बन्धित रहेको व्यापक रूपमा स्वीकार गरिएको छ । फेडोरोभलाई पुनः रक्षामन्त्री बनाउन माग गर्दै विरोध प्रदर्शन बढ्दै गएपछि केही दिनमै सिस्र्कीलाई पनि पदबाट हटाइएको थियो ।

यसले युक्रेनी राष्ट्रपतिमाथि थप दबाब सिर्जना गरेको थियो । फेडोरोभलाई सैन्य नवप्रवर्तन हेर्ने उपप्रधानमन्त्रीसहित सरकारका अन्य पदको प्रस्ताव गरिएको थियो । तर ३५ वर्षीय फेडोरोभले आफू रक्षामन्त्रीकै रूपमा मात्र सरकारमा फर्कने बताएका छन् ।

फेडोरोभले भिडियो सार्वजनिक गर्नुभन्दा केही घण्टाअघि जेलेन्स्कीले कार्यवाहक रक्षामन्त्री येभेनी खमारालाई सोही पदमा नियुक्त गर्न संसद्समक्ष प्रस्ताव गरेको पुष्टि गरेका थिए । यस विषयमा बुधबार पछि मतदान हुने तय भएको थियो ।

फेडोरोभले आफ्नो राजनीतिक योजनाबारे भने भिडियोमा कुनै संकेत दिएका छैनन् । बरु उनले लामो समयसम्म युद्ध जारी रहे पनि युक्रेनमा पूर्ण लोकतान्त्रिक प्रक्रिया पुनःस्थापित गर्न ‘कानुनी, सुरक्षित र व्यावहारिक संयन्त्र’ आवश्यक रहेको बताएका छन् ।

उनको निर्वाचन गराउने मागले केही युक्रेनी टिप्पणीकारलाई आक्रोशित बनाएको छ । फेडोरोभलाई पुनः रक्षामन्त्री बनाउन समर्थन गर्ने केही व्यक्तिले समेत उनको मागको आलोचना गरेका छन् । जेलेन्स्कीका एक प्रमुख आलोचकले समेत सरकारका कट्टर विरोधीहरूले युद्धका क्रममा निर्वाचन गराउनु असम्भव रहेको बुझेको बताएका छन् ।

जेलेन्स्कीको पाँच वर्षे राष्ट्रपतीय कार्यकाल मे २०२४ मा समाप्त भएको थियो । तर युक्रेनको संविधानअनुसार सैनिक शासन लागू रहेसम्म निर्वाचन गर्न पाइँदैन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष किएभले निर्वाचनबाट बच्न “युद्धलाई बहाना बनाइरहेको” आरोप लगाएपछि जेलेन्स्कीले सहयोगी राष्ट्रहरूले निर्वाचनका लागि सुरक्षा सुनिश्चित गर्न सहयोग गरेमा ६० देखि ९० दिनभित्र निर्वाचन गराउन युक्रेन तयार रहेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *