काठमाडौं । नेपाली गल्फको विकास तथा अन्तर्राष्ट्रिय प्रवर्द्धनका लागि नेपाल गल्फ संघ र चीनको क्वाङ्चाै (ग्वाङ्झाउ) एडे गल्फ स्पोर्ट्स डेभलपमेन्ट कम्पनी लिमिटेडबीच सहकार्य सम्झौता भएको छ ।
सम्झौतामा नेपाल गल्फ संघका अध्यक्ष टासी घले र ग्वाङ्झाउ एडे गल्फ स्पोर्ट्स डेभलपमेन्ट कम्पनीका अध्यक्ष ह्वाङ काे मेईले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार नेपाली राष्ट्रिय गल्फ टोलीले चीनको ग्वाङ्झाउमा अन्तर्राष्ट्रियस्तरका प्रशिक्षण पूर्वाधार तथा सुविधाहरू प्रयोग गर्ने अवसर पाउनेछ ।
दुई संस्थाबीच खेलाडी तथा प्रशिक्षक आदान–प्रदान, उच्चस्तरीय प्रशिक्षण, नेपालमा समर्पित गल्फ एकेडेमी स्थापना तथा नेपाल–चीनबीच क्षेत्रीय गल्फ पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने सहमति भएको छ ।
नेपालमा राष्ट्रिय गल्फ एकेडेमी स्थापना गर्ने तयारी
नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले नेपालमा गल्फ खेलको विकास अझै प्रारम्भिक चरणमा रहेको र विशेषगरी युवा खेलाडी उत्पादन तथा प्रशिक्षणमा संघले जोड दिइरहेको बताए ।
दीर्घकालीन रूपमा गल्फ खेलको विकास गर्न नेपालमा राष्ट्रिय गल्फ एकेडेमी स्थापना आवश्यक रहेको उल्लेख गर्दै घलेले त्यसका लागि सरकारले जग्गा उपलब्ध गराउने अपेक्षासहित पहल भइरहेको जानकारी दिए ।
“नेपालमा गल्फको विकास अझै प्रारम्भिक चरणमा छ। हामी विशेषगरी जुनियर खेलाडीको विकासमा केन्द्रित छौं। खेलाडी उत्पादन र प्रशिक्षणका लागि गल्फ एकेडेमी आवश्यक छ। त्यसका लागि हामी सरकारसँग जग्गा मागिरहेका छौं,” घलेले भने ।
चीनको एडे गल्फसँग भएको सहकार्यले नेपालमा विद्यमान प्रशिक्षण तथा पूर्वाधारसम्बन्धी चुनौती समाधान गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास नेपाल गल्फ संघले लिएको छ ।
एडे गल्फका सहसंस्थापक मार्क थुईले एडे चीनका ठूला गल्फ कम्पनीमध्ये एक रहेको उल्लेख गर्दै नेपाल र चीनमा प्रतिस्पर्धात्मक गल्फ प्रतियोगिता आयोजना गरी खेलको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल–चीन गल्फ पर्यटनमा पनि सहकार्य
सम्झौताले खेलाडी र प्रशिक्षकको आदान–प्रदानसँगै नेपाल र चीनबीच गल्फ पर्यटन प्रवर्द्धनका लागि समेत नयाँ सम्भावना खोल्ने अपेक्षा गरिएको छ ।
नेपालका प्राकृतिक तथा हिमाली पर्यटन गन्तव्य र गल्फ खेललाई जोडेर अन्तर्राष्ट्रिय गल्फ पर्यटक आकर्षित गर्न सकिने सम्भावना रहेको अवस्थामा चीनसँगको सहकार्यले नेपाली गल्फलाई क्षेत्रीय स्तरमा प्रवर्द्धन गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।
एसियाली खेलकुदका लागि नेपाली टोलीलाई पोसाक सहयोग
यसै अवसरमा जापानमा हुने आगामी एसियाली खेलकुद प्रतियोगिताका लागि नेपाली राष्ट्रिय गल्फ टोलीलाई खेल पोसाक हस्तान्तरण गरिएको छ ।
वाल्डो डाइनास्टी आङ हो नेपालले नेपाली राष्ट्रिय गल्फ टोलीका खेलाडी, प्रशिक्षक तथा पदाधिकारीका लागि खेल पोसाक प्रायोजन गरेको हो । संस्थाका अध्यक्ष स्टेवार्ड चोङले नेपाल गल्फ संघका अध्यक्ष घलेलाई पोसाक हस्तान्तरण गरे ।
घलेले सहयोगका लागि धन्यवाद दिँदै एसियाली खेलकुदमा राष्ट्रिय टोलीका सबै सदस्यले प्रायोजित पोसाक प्रयोग गर्ने बताए ।
स्टेवार्ड चोङका अनुसार संस्थाले सन् २०१४ देखि नेपाली अन्तर्राष्ट्रिय खेलकुद टोलीलाई पोसाक उपलब्ध गराउँदै आएको छ । उनले नेपाली राष्ट्रिय गल्फ टोलीसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे ।
पछिल्लो समय नेपालले अन्तर्राष्ट्रिय गल्फ प्रतियोगितामा सहभागिता बढाउँदै लगे पनि पूर्वाधारको अभाव, प्रशिक्षकको क्षमता विकास र स्तरीय खेलाडी उत्पादन अझै प्रमुख चुनौतीका रूपमा रहेका छन् ।
नेपाल गल्फ संघले चीनको एडे गल्फसँगको नयाँ संस्थागत सहकार्य र निजी क्षेत्रबाट प्राप्त प्रायोजनले नेपाली गल्फका यस्ता संरचनागत चुनौती समाधान गर्न सहयोग पुग्ने अपेक्षा गरेको छ ।
